काठमाडौं । आईजीआई पु्रडेन्सियल इन्स्योेरेन्सको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार आम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्सालमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा सम्पूर्ण सेयरधनीलाई हार्दिक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले बीमा नागरिकको जीवनसँग प्रत्यक्षरूपमा जोडिएको हुन्छ । जीवनमा आइपर्ने विपद् र जोखिम अनपेक्षित र अनिश्चित हुने गर्छन् । आफूले दुःख गरेर आर्जन गरेको सम्पत्ति होस् या कुनै व्यवसाय सम्भावित जोखिम न्यूनीकरण गर्ने सबैभन्दा भरपर्दो माध्यम नै निर्जीवन बीमा हो र यसै यथार्थलाई मध्यनजर गर्दै विगत दुई दशकभन्दा लामो समयदेखि यस आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नागरिकको जीवनमा आईपर्ने यस्तै अनेकौँ जोखिमहरूको न्यूनीकरण गर्न सहजकर्ताको भूमिका खेलिरहेको छ भने समग्र अर्थतन्त्रमा नै महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको जानकारी दिए ।
उक्त अवसरमा ढकालले समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीले ४१ अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा दुई दशमलव आठ प्रतिशतले बढी हो । साथै आव २०८०/८१ मा कुल गार्हस्थ उत्पादनमा निर्जीवन बीमा क्षेत्रको शून्य दशमलव ७३ र कुल बीमा क्षेत्रको तीन दशमलव ४७ प्रतिशत योगदान रहेको छ । सो सूचकांकले बीमा क्षेत्रको विकासमा प्रचुर सम्भावना रहेको प्रष्ट देखिएको जानकारी गराउँदै समीक्षा वर्षमा कम्पनीले तीन अर्ब ५३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरी गत वर्षको दाँजोमा सात दशमलव १२ प्रतिशतले वृद्धि गर्न सफल भएको जानकारी गराए । त्यसैगरी कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफा तथा गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको नौ दशमलव ७३ दशमलव ६८ प्रतिशतका दरले हुन आउने रकम २९ करोड ४९ लाख ६१ हजार पाँच सय ३० (कर प्रयोजनार्थसहित) नगद लाभांश सभाबाट पारित भएको जानकारी गराए ।
कम्पनीको आफ्नै जग्गामा निर्माणाधीन ११ तल्लाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको, भवनको सम्पूर्ण कार्य करिब छ महिनाभित्र सकिने अपेक्षा रहेको र यसैगरी कम्पनीले आगामी वर्षदेखि विभिन्न प्रदेशमा समेत आफ्नै भवनको अवधारणा अगाडि सारेको र सोलाई क्रमशः व्यवस्था गर्दै लगिने व्यहोरा समेत सेयरधनी महानुभावहरूलाई जानकारी गराए । कम्पनीले २७ औँ साधारणसभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरू सभाले स्वीकृत गरेकोमा सबै सेयरधनीलाई धन्यवाद व्यक्त गरे । त्यसैगरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २७ औँ वार्षिक साधारणसभामा सम्पूर्ण सेयरधनी महानुभावहरूलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहकहरू, लगानीकर्ता, नियमनकारी निकायहरू र सहकर्मी साथीहरूको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रूपमा स्थापित भइरहेको जानकारी गराए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गरे । लगानीकर्ताहरूको भावना र सञ्चालक समितिको निर्देशनले अगाडि बढिरहेको जानकारी गराए ।
बीमाको पहुँचलाई देशको सबै क्षेत्रमा पुर्याउने हेतुले हामीले सातै वटै प्रदेशमा रहेका ६९ वटा शाखा तथा उपशाखा र १४ वटा सेवा काउन्टरहरू गरी ८३ स्थानमा आफ्नो बलियो उपस्थितिसहित पाँच सय एक जना कर्मचारीहरू रहेको छन् भने ४५ दशमलव ७९ प्रतिशत महिला कर्मचारी रहेको, चार सय अभिकर्ताहरू र एक सय ९१ सर्भेयरमार्फत आफ्ना ग्राहक महानुभावलाई सेवा प्रदान गरिरहेको जानकारी गराए । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा हासिल गरेको बीमा प्रिमियम रकम तीन अर्ब ३९ करोड ४५ लाखमा सात दशमलव १२ प्रतिशतले वृद्धि गरी समीक्षा वर्षमा तीन अर्ब ६३ करोड ६१ लाख बीमा प्रिमियम संकलन गर्न सफल भएको छ । त्यसैगरी नेपाल सरकारलाई गत आवमा विभिन्न करबापत कुल ५९ करोड २८ लाख भुक्तानी गरेकोमा समीक्षा वर्षमा ३५ दशमलव ८० प्रतिशतले वृद्धि गरी ८० करोड ५० लाख राष्ट्र निर्माणमा ठूलो योगदान पुर्याएको व्यहोरा सेयरधनी महानुभावहरूलाई जानकारी गराए ।
श्रेष्ठले कम्पनीले हालसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै कम्पनीको नीति, नियम र विनियमहरू, आन्तरिक लेखा परीक्षणलगायत बीमा प्राधिकरणबाट समयसमयमा प्राप्त निर्देशनहरूको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउँदै कम्पनीसँग भएको साधन र स्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा सञ्चारमा विशेष ध्यान दिएका छौँ । नेपाल बीमा प्राधिकरणलगायत कम्पनीको नियमनकारी निकायबाट समय समयमा जारी हुने निर्देशनलाई विशेष महत्वका साथ परिपालन गर्दै कम्पनी अगाडि बढिरहेको छ । त्यसैगरी चुक्तापुँजीको अनुपातमा कम्पनीले बीमा बजारमा आफ्नो स्थानलाई सुरक्षित गर्ने गरी गुणस्तरीय व्यावसायमा विशेष ध्यान दिँदै आएको जसबाट चालु आवमा निर्जीवन बीमा बजारमा कम्पनी चौथो स्थानमा रहेको र यसलाई अझै स्तरोन्नति गर्दै लाने गरी कार्यहरू भइरहेको व्यहोरा समेत जानकारी गराए ।