काठमाडौं । नेपालको चिकित्सा शिक्षा क्षेत्रमा पहिलो पटक स्वदेशमै डीएम (डाक्टरेट अफ मेडिसिन) हेमाटोलोजिस्ट उत्पादन भएको छ । डा विक्रम कार्की स्वदेशमै अध्ययन गरेर पहिलो डीएम हेमाटोलोजिस्ट बनेका छन् ।
उनले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (एनएमएस), वीर अस्पतालबाट हेमाटोलोजीमा डीएम सम्पन्न गरेका हुन् । यसले नेपालमा जटिल रगतसम्बन्धी रोगहरूको पहिचान र उपचारमा नयाँ युगको सुरुवात गरेको छ । यो उपलब्धि नेपालका हेमाटोलोजिस्ट प्राडा विशेष शर्मा पौड्यालको असाधारण मार्गदर्शनको प्रमाण हो । उनको समर्पण र विशेषज्ञताले नेपालमा डीएम प्रशिक्षित हेमाटोलोजिस्टहरूको पहिलो पुस्ता तयार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । प्रा. पौड्यालको नेतृत्वमा डा कार्कीले तीन वर्षसम्म सिभिल सर्भिस अस्पतालमा चिकित्सा अभ्यास गरेका हुन् । हस्पिटलमा अत्याधुनिक बोन म्यारो ट्रान्सप्लान्ट सुविधासहितका व्यापक हेमाटोलोजी सेवा उपलब्ध छन् ।
डा. कार्कीको यस उपलब्धिसँगै नेपाल उन्नत हेमाटोलोजिकल केयरतर्फ आत्मनिर्भर बन्ने दिशातर्फ अग्रस भएको छ । योसँगै नेपाली बिरामीहरूले विदेशमा महँगो उपचार गराउन जानुपर्ने आवश्यकता न्यून हुनेछ । जसले विश्वस्तरीय सेवा नेपालमै सहज र सुलभ बनाउनेछ । यसले चिकित्सा क्षेत्रमा महत्वपूर्ण प्रगति दर्शाउनुका साथै भावी विशेषज्ञलाई यस क्षेत्रमा लाग्न प्रेरित गर्ने जनाइएको छ ।