काठमाडौँ । धार्मिक भ्रमणको सिलसिलामा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार भारत प्रस्थान गरेकी छिन् । मन्त्री डा. राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्ने कार्यक्रम छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री डा. राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले विदाइ गरेका थिए । त्यसपछि मन्त्री डा राणा भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुनेछिन् ।
भारत सरकारको निमन्त्रणामा मन्त्री डा. राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरुको उक्त डायलगमा सहभागिता रहनेछ । सो कार्यक्रमलाई मन्त्री डा. राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै यही भ्रमणकै क्रममा मन्त्री डा. राणाले आफ्नो स्वास्थ्य जाँचको फलो अप पनि गराउने कार्यक्रम रहेको छ ।