काठमाडौं । अमेरिकी बजारमा नेपालको साहसिक पर्यटन गन्तव्यवहरूको प्रचार तथा प्रबर्द्धन गरिएको छ । अमेरिकाको कोलोराडोस्थित डेन्वरमा हालै भएको ‘ट्राभल एन्ड एड्भेन्चर सो–२०२५’ मा नेपाल पर्यटन बोर्डले नेपाललाई ‘साहसिक पर्यटन राजधानी’ को रूपमा प्रस्तुत गरेको हो ।
यही मार्च ८–९ मा आयोजित उक्त सोमा बोर्डले विशेष कार्यक्रमको आयोजना गर्दै नेपाललाई एक साहसिक र सुरक्षित पर्यटन गन्तव्यको रुपमा प्रचार गरेको जनाएको छ । बोर्डका कार्यकारी समिति सदस्य ऋषिराम भण्डारी र बोर्डका कार्यकारी निर्देशकले नेपालको समृद्ध र विविध पर्यटकीय क्षेत्र र गतिविधिहरूको बारेमा जानकारी दिँदै अमेरिकी पर्यटन व्यवसायीहरूलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गरेका थिए । यस्तै, बोर्डले सो कार्यक्रममा सहभागी पर्यटन व्यवसायीमध्येबाट लक्की ड्रमार्फत एक जनालाई सगरमाथा आधार शिविरसम्मको पदयात्रा निःशुल्क गराउने भएको छ ।
उक्त लक्की ड्र अमेरिकी पर्यटन व्यवसायी उपला सेफर्टले जितेकी थिइन् । उनले यही मार्चदेखि मेसम्ममा नेपाल भ्रमण गरिसक्नुपर्नेछ । नेपाल भ्रमणका क्रममा लाग्न खर्च बोर्डले व्यहोर्ने जनाइएको छ । यसले अमेरिकी बजारमा नेपालको पर्यटन प्रबर्द्धन र प्रचारका लागि थप मद्दत पुग्ने बोर्डको विश्वास छ । ‘ट्राभल एन्ड एड्भेन्चर सो–२०२५’ आधिकारिक वेबसाइट अनुसार नेपाललाई साहसिक यात्राको राजधानीको रुपमा उल्लेख गरिएको छ । जसमा भनिएको छ, ‘विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरमध्ये आठ वटा नेपालमै पर्छन् । यसकारण पनि नेपाल ’पर्वतारोहीको लागि उत्कृष्ट’ गन्तव्य हो । अद्भुत प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र समृद्ध सांस्कृतिक धरोहरले नेपाललाई साहसिक यात्रा गर्नेहरूका लागि अनुपम अनुभव प्रदान गर्दछ ।’
नेपाल पदयात्राबाहेक पर्वतारोहण, र्याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, जिप–लाइनिङ, जंगल सफारीजस्ता साहसिक पर्यटकीय गतिविधिहरूले पनि संसारमा चिनिएको उक्त वेबसाइटमा उल्लेख छ । कोरोना महामारीपछि नेपालमा पर्यटकहरू भित्र्याउनका लागि नेपाल पर्यटन बोर्डले संसारका विभिन्न मुलुकहरूमा पर्यटन प्रबर्द्धन, प्रचार र पर्यकीय गतिविधिहरूमा तीव्रता दिइरहेको छ । ‘ट्राभल एन्ड एड्भेन्चर सो–२०२५’ मा नेपालका नौ वटा निजी पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो । नेपालले आयोजना गरेको विशेष कार्यक्रममा भने ५५ वटा अमेरिकी टुर अपरेटर कम्पनीका प्रमुख तथा प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।