काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कुपन्डोल, ललितपुरस्थित जननी फर्टिलिटी क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङका ग्राहकले जननी फर्टिलिटी क्लिनिकमा पाँच प्रतिशत औषधि छुट, १० प्रतिशत प्याथोलोजी टेस्टर छुट र डाक्टर परामर्शमा ५० प्रतिशतसम्म आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड‘ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।
बैंकले हाल देशैभर ६० जिल्लामा फैलिएका आफ्ना एक सय ९९ वटा शाखा, एक सय ६६ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।