काठमाडौं । इन्टरनेट सेवा प्रदायक सजिलो नेटले लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बास्डरको रूपमा चयन गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गरी गायक पंगेनीलाई ब्रान्ड एम्बासडरको रूपमा घोषणा गरेको हो ।
नेपाली लोकसंगीत क्षेत्रमा ख्याति कमाएका पंगेनीले आफ्ना मार्मिक तथा सन्देशमूलक गीतमार्फत लाखौँ दर्शक–स्रोताको मन जित्न सफल भएका छन् । नेपाली साङ्गीतिक तथा लोकजीवनमा गहिरो छाप छोड्न सफल उनी सजिलो नेटको प्रतिनिधित्व गर्न उपयुक्त व्यक्ति भएको कम्पनीले जनाएको छ । सजिलो नेट उच्च गतिको भरपर्दो इन्टरनेट सेवा सुलभ मूल्यमा प्रदान गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको जनाइएको छ । ‘सजिलो नेटका लागि इन्टरनेट केवल प्रविधिमै सीमित छैन, यो हाम्रो संस्कृति, परम्परा र जनजीवनलाई जोड्ने एउटा महत्वपूर्ण माध्यम पनि हो’, सजिलो नेटका प्रमुख कार्यकारी अधिकृत, सतीश कार्कीले भने, ‘बद्री पंगेनीको संगीतले जस्तै हामी पनि नेपालीहरूबीचको दूरी घटाउँदै सबैलाई सरल, सुलभ तथा सुपथ इन्टरनेट सेवामार्फत जोड्ने प्रयास गरिरहेका छौँ ।’
सजिलो नेटले आधुनिक इन्टरनेट सेवा विस्तार गर्दै ग्राहकहरूलाई उच्च गुणस्तरीय, सरल, सुलभ तथा सुपथ इन्टरनेट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्य राखेको छ । बद्री पंगेनीसँगको सहकार्यले ब्रान्डलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।