अत्तरिया । धनगढीमा पार्टीको प्रदेश स्तरीय प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र असमझदारी हटाएर पार्टी एक भएको खण्डमा सुदूरपश्चिमबाट नेपाली कांग्रेसले जितको लहर ल्याउने बताएका छन् ।
प्रशिक्षण सकेर गाउँगाउँमा गएर जनस्तरमा जनताका गुनासा सुन्न र जनताका काम गर्न पार्टी सभापति देउवाले प्रशिक्षणमा सहभागी नेताहरूलाई निर्देशन दिए । उनले प्रशिक्षक कार्यक्रमले नेता कार्यकर्तामा थप उत्साह, जागर ल्याउने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेसले नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाएको उल्लेख गर्दै नेपाली कांग्रेसका नीति तथा प्रशिक्षण विभाका प्रमुख तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस सभापतिकै नेतृत्वमा नेपालमा शान्ति सुशासन कायम भएको कुरा मतदाता र जनतामा पुर्याउन पार्टी चुकेको बताए ।
प्रशिक्षणले पार्टीलाई थप बलियो बनाउन र एक ढिक्का भएर अगाडि बढाउने कांग्रेस प्रदेश महामन्त्री मेघराज खड्काले बताए । धनगढीमा प्रशिक्षण कार्यक्रम मंगलबार र बुधबार दुई दिनसम्म चल्ने छ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट गरी डेढ सय अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको छ ।