काठमाडौँ । सहरी विकास मन्त्रालयमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाका जनप्रतिनिधिहरुसँग आगामी बजेटमा उपत्यकाको समेट्नै पर्ने योजनाबारे छलफल गरेका छन् ।
उपप्रधानमन्त्री सिंहले मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका नगर प्रमुख र उपप्रमुखहरुसँग छलफल गरेका हुन् । सो क्रममा प्रमुख र उपप्रमुखहरुले उपत्यकालाई कसरी व्यवस्थित र बस्नयोग्य सहर बनाउने, उपत्यकाका नदी प्रणाली सुधार्ने, फोहोरमैला र ट्राफिक व्यवस्थापनको समस्या कसरी हल गर्ने भन्ने विषयमा धारणा राखेका थिए ।
उपप्रधानमन्त्री सिंहले तीनै तहका सरकारले उपत्यकामा बग्ने नदीहरुलाई स्वच्छ, सफा राख्न मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले उपत्यकाका नदी प्रणाली स्वच्छ बनाउन ‘सेप्टिक ट्याङ्क’ अभियान चलाउनुपर्ने बताए । उनले सेप्टिक ट्याङ्क बनाउने कार्यलाई उपत्यकामा अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री सिंहले उपत्यकामा जमिनमुनि पानीको तह घटिरहेको हुँदा त्यसलार्ई बढाउन ग्राउन्ड वाटर हार्भेस्टिङ र सेप्टिक ट्याङ्कको अभियान नै चलाउनु पर्ने बताए । आफूले सहरी विकास मन्त्रालय सम्हालेदेखि नै बाग्मती र धोबीखोलामा अर्बौं रुपैयाँ खर्च भए पनि योजना बनाउँदा किन कमजोरी भयो भनेर प्रश्न उठाइरहेका र त्यसलाई सच्याउँदै सिधै ढल मिसाउन नदिन आवश्यक काम अघि बढाएको उपप्रधानमन्त्री सिंहले बताए ।
उपत्यकाका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरुले छलफलमा फोहोरमैला व्यवस्थापन, नदीको स्वच्छता र सफाइ, सहरी पूर्वाधारको विकासमा आउने बजेटमा सम्बोधन गर्नुपर्ने सुझाव दिए । उपत्यकालाई सुन्दर र बस्नयोग्य बनाउन पालिकाले गर्न सक्ने कामबारे कार्ययोजना पेस गर्न आग्रह गर्दै उपप्रधानमन्त्री सिंहले पालिकाबाट आएका सुझाव समेटेर बजेटमार्फत सम्बोधन गरी अघि बढ्ने बताए ।