काठमाडा । विभिन्न मितिमा हराएका २० वटा दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले छवटा मोटरसाइकल र १४ वटा स्कुटर सम्बन्धित धनीलाई मंगलबार हस्तान्तरण गरेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको यूएनपार्क, एयरपोर्ट, नयाँबसपार्क, गुहेश्वरी, गौशाला, सुन्दरीजल, कालिमाटी, ठमेल, मालिगाउँ, चुनदेवी, जगाती, दिपज्योती, बौद्ध, गोकर्णेश्वर, नरेफाँट र नेपालटारलगायतका स्थानबाट उक्त सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
आज बुझाइएका २० वटासहित तीन सय ३७ वटा सवारीसाधन साउनदेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ३६ वटा दुईपाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न ५३ जना व्यक्तिलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । आज बुझाइएका २० वटा सवारीसाधनहरु हराएको भनी विभिन्न मितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेका थिए ।
सवारीसाधन जिम्मा लिएपश्चात् सवारीधनीहरुले खुसी व्यक्त गर्दै सामूहिकरुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । आर्थिक वर्ष २०७९÷०८० मा ४९९ वटा र ०८०/०८१ मा ४१७ वटा दुईपाङ्ग्र्रे सवारीसाधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।
सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गर्न साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले अनुरोध समेत गरेका छन् । सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।