काठमाडौं । नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रियस्तरको दोस्रो वमन लिडरसिप समिट २०२५ आयोजना गर्ने भएको छ । परिसंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा यही चैत्र ३ गते काठमाडौंमा सो सम्मेलन आयोजना गर्न लागेको हो ।
परिसंघ सचिवालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सम्मेलन आयोजनाको लागि सीएनआई वमन लिडरसिप फोरमले संयोजन गरेको जानकारी दिए । उनका अनुसार सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । सम्मेलनमा प्रविधि र इनोभेसन, वमन इन सस्टेनेबल एग्रिकल्चर, इन्भेस्टिङ इन वमन, बीवेन्ड बाउन्ड्रिजका विषयमा सत्रगतरूपमा छलफल हुनेछ । सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायहरूले लिनुपर्ने नीतिगत विषयमा गहनरूपमा छलफल हुने अध्यक्ष अग्रवालले बताए । उनका अनुसार यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुने र यसले महिलाहरूलाई प्रेरित गर्नेछ ।
सम्मेलनमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त महिलाहरूसहित करिब पाँच सय जनाको सहभागिता हुने सीएनआई महिला नेतृत्व फोरमकी सभापति छाया शर्माले बताइन् । परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता सम्मेलनले महिलाहरूलाई अगाडि बढाउन सहयोग पुग्ने बताए । सम्मेलनको टाइटल स्पोन्सर नबिल बैंकका उपमहाप्रबन्धक आदर्श बजगाईंले महिलाहरूलाई अगाडि बढाउन बैंकले सहयोग गर्दै आइरहेको र सोहीअनुरूप यस सम्मेलनमा पनि बैंक आबद्ध भएको बताए । सम्मेलनमा मेक इन नेपाल स्वदेशी वस्तुहरूको प्रदर्शनी समेत गरिनेछ । सम्मेलनको टाइटल स्पोन्सरमा नबिल बैंक रहेको छ भने एसियाली विकास बैंक (एडीबी) पावर्ड बाई रहेको छ ।
सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने अन्य संस्थाहरूमा नेपाल पर्यटन बोर्ड, एनसेल, एमएडब्लु वृद्धि मोटर्स, डाबर नेपाल, युनिलिभर, बोटलर्स नेपाल, कृषि विकास बैंक, चौधरी फाउन्डेसन, वल्र्डलिंक कम्युनिकेसन, भ्यास मिडिया, इभेन्ट म्याक्स, सोल्टी होटेल, इको एड, इन्क्युलिसिभ फ्युचर फाएन्डेसन रहेका छन् । सम्मेलनमा सहभागी हुन परिसंघको वेभसाइटमा गएर रजिस्ट्रर गर्न सकिनेछ ।