काठमाडौँ, साउन ११
एभरेष्ट बैंकले चाडपर्व लक्षित विशेष कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैकका अनुसार आफ्ना ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्व विशेष कर्जा योजना सञ्चालनमा ल्याइएको हो । यसअन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडाभन्दा सस्तो घर कर्जा, स्वरोजगार तथा उद्यमीको लागि साना तथा मझौला उद्योग कर्जा, आफ्नै सवारीसाधनको लागि गाडी तथा मोटरसाइक कर्जा तथा व्यक्तिगत प्रयोजनको लागि व्यक्तिगत कर्जा योजना सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार यही साउन १५ देखि कात्तिक १४ सम्म लागू हुने यो कर्जा योजनामा घर कर्जा आठ दशमलव २५ प्रतिशत ब्याजमा, साना तथा मझौला उद्योग कर्जा आठ दशमलव २५ प्रतिशत ब्याजमा, गाडी कर्जा नौ दशमलव ५५ प्रतिशत ब्याजमा, मोटरसाइकल कर्जा १० दशमलव ५५ प्रतिशतमा तथा व्यक्तिगत कर्जा नौ दशमलव५५ प्रतिशत ब्याजमा उपलब्ध हुने बैंकले जानकारी दिएको छ । यो योजनाबाट ग्राहकहरूले उच्चतम फाइदा लिने विश्वास बैंकले गरेको छ । बैंकका अनुसार चाडपर्व विशेष कर्जा योजनामा प्रशासनिक शुल्क शून्य दशमलव ५० प्रतिशत मात्र हुनका साथै अन्य बैंक तथा वित्तीय संस्थाबाट लोन स्वाप गर्दा सेवा शुल्कमा अतिरिक्त छुट हुनेछ ।