दोलखा । दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको काम ठप्प भएको छ ।
कम्पनीमा कार्यरत श्रमिकहरूले बुधबारदेखि आयोजना निर्माणको काम ठप्प पारेका हुन् । आफूहरूसँग विभिन्न समयमा भएका सहमति ठेकेदार कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ले कार्यान्वयन नगर्दा आयोजनाको काम ठप्प पारिएको श्रमिकहरूले बताएका छन् । आयोजनाअन्तर्गत अडिट–१ र २ को ठेक्का लिएको ठेकेदार कम्पनी सिनो हाइड्रोले आफ्नो कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूको माग सम्बोधन नगरेपछि सम्पूर्ण कामकाज ठप्प पारिएको त्यहाँ कार्यरत श्रमिक जीवन मगरले जानकारी दिए । उनका अनुसार यसअघि नेपाली श्रमिकहरूले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधानअनुसार आफूहरूलाई रोजगार सम्झौतापत्र दिनुपर्नेलगायत विभिन्न १३ बुँदे माग सिनो हाइड्रोसमक्ष राखेका थिए । उक्त मागका सम्बन्धमा श्रमिक र कम्पनीबीच फागुन १६ गते सहमति भएको थियो । स्थानीय जनप्रतिनिधि र आयोजनाका पदाधिकारीहरूको रोहवरमा भएको सो सहमति कार्यान्वयन गर्न कम्पनीले उदासीनता देखाएपछि कामकाज ठप्प पार्न बाध्य भएको उनको भनाइ छ ।
‘एक हप्ताभित्र सबै नेपाली श्रमिकहरूलाई रोजगार सम्झौताको पत्र उपलब्ध गराउनुपर्ने सहमति हामीसँग भएको थियो । तोकिएको समयमा कम्पनीले सो काम नगरेपछि हामीले फागुन १९ गते कम्पनी व्यवस्थापलाई पुनः ध्यानाकर्षण गराएका थियौँ । त्यसपछि पनि अहिलेसम्म कुनै काम भएको छैन,’ अर्का कामदार मदन कुमार श्रेष्ठले भने, ‘हामीसँग भएको सहमति कार्यान्वयन नहुँदासम्म कामकाज ठप्प पार्ने हामी सबै नेपाली श्रमिकको निर्णय भएको छ । त्यसैअनुसार अघि बढ्छौँ ।’ सो आयोजनामा कार्यरत श्रमिकहरूले संयुक्त विज्ञप्ति जारी गरी कामकाज ठप्प पार्दा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार अडिट–१ र २ को ठेकेदार कम्पनी हुनुपर्ने पनि स्पष्ट पारेका छन् ।
उनीहरूले यसअघि रोजगार सम्झौता वा नियुक्तिपत्र उपलब्ध गराउनुपर्ने, सेवासुविधा, उपदान, दुर्घटना बीमा, चिकित्सा बीमा, सञ्चय कोष, चाडपर्व खर्च, वार्षिक तलब वृद्धि/ग्रेड तथा सार्वजनिक, साप्ताहिक, प्रतिस्थापन, घर, बिरामी र सुत्केरीलगायत बिदाको बारेमा स्पष्टता खोजेका थिए । त्यस्तै, काम गर्ने घण्टा, ओभरटाइम सुविधा, निर्माण मजदुरको समस्या, स्वास्थ्य र सुरक्षा तथा कार्य विवरणको बारेमा पनि स्पष्ट बन्न÷बनाउन कम्पनीसमक्ष लिखित आग्रह गरेका थिए । नेपालको श्रम कानुनअनुसार श्रमिकले पाउनुपर्ने सेवासुविधालाई समेटेर ठेकेदार कम्पनीसमक्ष १३ बुँदे मागपत्र बुझाएको तर अहिलेसम्म कुनै पनि विषयको सम्बोधन नभएको उनीहरूको भनाइ छ । हाल तामाकोशी पाँचौँमा करिब पाँच सय जना श्रमिक कार्यरत छन् । त्यसमध्ये चार सय जना नेपाली मात्रै छन् ।