ढल्केबर । धनुषाको जनकपुरबाट राजविराजतर्फ गइरहेको १४४१ नम्बरको बस धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम लोक मार्गमा दुर्घटनाहुँदा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
शुक्रवार बिहान ९ बजे सो बस दुर्घटना भएको हो । दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य केन्द्रमा पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले बताए । उनले हालसम्म घटनामा करिब ६ जनालाई गम्भीर चोटपटक लागेको र अन्यलाई सामान्य चोटपटक लागेको जानकारी दिदै घाइतेहरूको विवरण सङ्कलन गरिरहेको बताए ।
उनका अनुसार ढल्केवरस्थित निजी स्वास्थ्य केन्द्र र प्रादेशिक अस्पताल जनकपुरमा घाइतेहरूको उपचार भइरहेको छ । प्रारम्भिक जानकारीअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको र बसको ब्रेक जाम भएर दुर्घटना भएको खुल्न आएको प्रहरी निरीक्षक यादवको भनाइ छ ।