मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले बिहीबार ३० दिने युद्धविरामको लागि अमेरिकी प्रस्ताव अस्वीकार गरेका छन् । रुसले यो प्रस्ताव युक्रेनको लागि अस्थायी राहतबाहेक अरु केही नभएको बताएको छ ।
यो विकास यस्तो समयमा भएको हो जब अमेरिकी र रुसी अधिकारीहरू अस्थायी युद्धविराम सम्झौताको बारेमा छलफल गर्न मस्कोमा भेट्न लागेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि चाल्र्स विटकफ रुससँग वार्ता गर्न मस्को पुगेका छन् ।
अर्कोतर्फ, रुसी रक्षा मन्त्रालयले बिहीबार आफ्नो सेनाले कुस्र्क क्षेत्रको सबैभन्दा ठूलो शहर सुड्जाको नियन्त्रण प्राप्त गरेको दाबी गरेको छ । राष्ट्रपति पुटिनले हिजो सैन्य पोशाकमा कुस्र्कको भ्रमण गरेका थिए, जसको क्रममा उनले यस क्षेत्रबाट युक्रेनी सेना फिर्ता बोलाउन आह्वान गरेका थिए ।