पेरिस । तेलको विश्वव्यापी माग यस वर्ष बढ्नसक्ने अनुमान भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि बढेको व्यापार युद्धका कारण बजार प्रभावित हुनसक्ने देखिएको छ । अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)ले यस वर्ष तेलको माग बढ्नसक्ने जनाएको थियो । तर, अहिले अवस्था फेरिएको छ ।
आईईएको तथ्याङ्कअनुसार ‘फेब्रुअरी र मार्चको सुरुमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । विश्वव्यापी अर्थव्यवस्थामा व्यापार युद्धको प्रभावको बारेमा चिन्ता बढेको छ र ओपेक प्लस समूहले अर्को महिना उत्पादन बढाउने योजनाको पुष्टि गरेको छ ।
सन् २०२५ मा विश्वव्यापी तेलको माग दैनिक १० लाख ब्यारेल (बीपीडी)ले बढ्ने अनुमान गरिएको थियो । जुन सन् २०२४ मा आठ लाख ३० हजार बीपीडी थियो । यसले यस वर्षको समग्र मागलाई तेलको कम मूल्य र चीनबाट आउने मागमा वृद्धिका कारण १० लाख ३९ हजार बीपीडीमा लैजाने अनुमान गरिएको थियो ।
विकसित देशहरूलाई ऊर्जा नीतिबारे सल्लाह दिने निकायले सन् २०२४ को अन्तिम त्रैमासिक र यस वर्षको पहिलो तीन महिनाका लागि आफ्नो अनुमान घटाएको जनाएको छ । ‘नयाँ अमेरिकी करले सन् २०२५ मा विश्वव्यापी व्यापार र आर्थिक वृद्धिमा अवरोधको रूपमा काम गर्नेछ,’ आईईएले आफ्नो मासिक तेल बजारबारे तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
आईईएका अनुसार आपूर्ति यस वर्ष छ लाख बीपीडीभन्दा बढी हुने अनुमान गरिएको छ, बिहीबार यो मूल्याङ्कनले कच्चा तेलको मूल्य घटाउन मद्दत गर्ने देखिएको छ । कच्चा तेलको मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने ब्रेन्टको मूल्यमा कमी आएको छ ।