महोत्तरी । महोत्तरीको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) १० वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । महोत्तरीका एसपी नकुल पोखरेलले रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी नायब निरीक्षक धर्मेन्द्र महतोलाई पक्राउ गरिएको बताएका छन् ।
एसपी पोखरेलका अनुसार मर्निङवाकमा जाँदा महतोले अश्लिल शब्द बोलेको र सोही घटनालाई लिएर दिउँसो बालिकाका बुवा सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा सोधपुछ गर्नका लागि पुगेका थिए । विवादले उग्ररुप लिँदै गएपछि स्थानीयले नाराबाजी गर्दै बेस क्याम्प घेराउ गरेका थिए ।
बालिकालाई यौनदुर्व्यवहार गरेको भन्दै स्थानीयले सशस्त्र प्रहरी पोस्ट घेराउ गरी कारबाहीको माग गरेपछि आरोपित महतोलाई सशस्त्र प्रहरीले नै पक्राउ गरेर अनुसन्धानका लागि जनपद प्रहरीलाई बुझाएको छ ।