काठमाडौंको ठमेलमा रहेको छायादेवी कम्प्लेक्सको गटमै भिक्षुहरूले प्रदर्शन गरेका छन् । बौद्ध ग्रन्थअनुसार लिच्छविकालमा निर्माण भएको पुरातात्विक सम्पदा कमलपोखरी रहेको सरकारी जग्गा मिचेर छायादेवी कम्प्लेक्स बनाएको भन्दै लामो समयदेखि विरोध हुनुको साथै अदालतमा समेत मुद्दा विचाराधीन रहेकै अवस्थामा शुक्रबार भिक्षुहरूले प्रदर्शन गरेका हुन् ।
करिब १५ रोपनी क्षेत्रफलमा बनेको छाया सेन्टरले ऐतिहासिक कमलपोखरीको जग्गा मिचेको विषयमा व्यापक विरोध भएपछि स्थानीयहरूका साथै मिडियाहरूले समेत सम्पदा जोगाउन गुठीको जग्गा छायादेवी कम्प्लेक्सको नाममा कसरी गयो भनेर खोतल्न थालेका थिए ।
२०३३ सालमा भएको नापी र २०३९ सालमा जारी भएको जग्गाधनी पुर्जामा कित्ता नम्बर १६७ मा रहेको कमलपोखरी र कित्ता नम्बर १०४० को चोक कायम रहेको जग्गामाथि पृथ्वीबहादुर पाण्डेले आफ्नो आमाको नाममा कम्प्लेक्स बनाएपछि विरोध सुरु भएको थियो । व्यापक विरोधका बीच २०७१ सालमा अधिवक्ता दिपकविक्रम मिश्र, रामहरि श्रेष्ठलगायतले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि यसका सञ्चालकहरू तनाबमा परेका थिए । पछिल्लो समय अदालतले समेत ऐतिहासिक पोखरी मासेर गुठीको जग्गामा कम्प्लेस बनाएको विषयमा निरन्तर सुनुवाइ गर्दै मालपोत कार्यालय र गुठी संस्थानसँग प्रमाण माग्न थालेको छ ।