काठमाडौं । जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गरेको छ । समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ कम्पनीले अपाङ्गता भएका व्यक्तिहरूलाई पाँच ओटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको हो ।
स्कुटर हस्तान्तरणका लागि आयोजित कार्यक्रम भारतीय राजदूतावास कल्याण केन्द्र, सोह्रखुट्टेमा सम्पन्न भएको थियो । कार्यक्रममा भारतीय राजदूतावासका विशिष्ट अतिथि मेजर नवीन जानु, एसएम असिस्टेन्ट मिलिटरी, टीभीएस मोटर कम्पनीका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । हस्तान्तरण गरिएका यी विशेष स्कुटरमार्फत अपाङ्गता भएका व्यक्तिहरूले अब स्वतन्त्रतापूर्वक आवतजावत गर्ने सहजताको अनुभव गर्न सक्नेछन् ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि गतिशीलता ठूलो चुनौती हुने गर्छ । यस पहलले विश्वसनीय, उच्च प्रदर्शन क्षमतायुक्त, सुविधा सम्पन्न स्कुटरहरू प्रदान गरेर उक्त चुनौतीलाई समाधान गर्न केही हदसम्म भए पनि सघाउने उद्देश्य बोकेको कम्पनीले जनाएको छ ।
टीभीएस एनटर्क, उत्कृष्ट प्रविधि, सहज सञ्चालन प्रणाली र मजबुत डिजाइनका लागि परिचित छ । यस सहयोगले लाभग्राहीहरूका लागि आत्मविश्वासमा वृद्धिका साथै दक्षताका साथ दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।