फ्रान्स । ट्रम्प प्रशासनले हालै युरोपेली संघ (ईयू)बाट आयात हुने स्टिल, आल्मुनियम र केही स्टिल र आल्मुनियमयुक्त उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । त्यसको प्रतिक्रियामा युरोपले बुधबार अमेरिकी ह्विस्कीमा ५० प्रतिशत कर लगाउने घोषणा गरेको छ ।
बिहीबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्विस्कीको कर तुरुन्तै नहटाएमा फ्रान्स र अन्य ईयू सदस्य राष्ट्रहरूबाट आउने सबै वाइन, शैम्पेन र अन्य मादक पेय पदार्थहरूमा दुई सय प्रतिशत कर लगाउने धम्की दिएका छन् ।
सबैभन्दा ठूलो युरोपेली वाइन र स्पिरिट निर्यातकर्ताहरूमध्ये एक, फ्रान्सले प्रतिक्रिया दिने पहिलो देशहरूमध्ये एक थियो । वाइन र स्पिरिट क्षेत्र देशको तेस्रो ठूलो राजस्व उत्पन्नकर्ता हो ।
फ्रान्सेली विदेश व्यापार प्रतिनिधि लरेन्ट सेन्ट–मार्टिनले यदि वाशिंगटनले आफ्नो ट्यारिफ धम्कीलाई पछ्यायो भने फ्रान्सले प्रतिकार गर्ने चेतावनी दिएका छन् । ‘फ्रान्स युरोपेली आयोग र हाम्रा साझेदारहरूसँग प्रतिक्रिया दिन दृढ छ,’ उनले आफ्नो सामाजिक सञ्जाल एक्समा भनेका छन् । उनले फ्रान्स वा ईयू अमेरिकाको दबाबमा नझुक्ने बताएका छन् ।
फ्रान्सेली विदेश मन्त्रालयका प्रवक्ता क्रिस्टोफ लेमोइनले पनि यही अडान दोहो¥याएका छन् । उनले भनेका छन् ‘तत्काल, दृढ र उपयुक्त’ प्रतिक्रिया दिइने बताए ।
बुधबार, फ्रान्सेली वाइन एन्ड स्पिरिट एक्सपोर्टर्स फेडरेसनले आर्थिक र भूराजनीतिक दबाबका कारण युरोपेली वाइन एण्ड स्पिरिट क्षेत्र अत्यधिक जोखिममा रहेको चेतावनी दिएको छ ।
युरोपेली स्तरमा, युरोपेली मदिरा उत्पादकहरूको प्रतिनिधि निकायले दुवै पक्षलाई असम्बद्ध व्यापार विवादबाट मादक पेय पदार्थहरूलाई बाहिर राख्न आग्रह गर्यो । आइरिस ह्विस्की एसोसिएसनले पनि बिहीबार चेतावनी दिएको छ कि करले व्यवसाय र उपभोक्ता दुवैमा गम्भीर प्रभाव पार्न सक्छ ।