इस्लामाबाद । पाकिस्तानमा रेल अपहरण गर्ने बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले दुई सय १४ बन्धकहरूलाई मारेको दाबी गरेको छ । बीएलएले एक विज्ञप्ति जारी गरेर भनेको छ, ‘हामीले पाकिस्तानी सेनालाई बन्धकहरू साट्न ४८ घण्टाको समय दिएका थियौं । तर पाकिस्तानको जिद्दीका कारण धेरै मानिसहरूले ज्यान गुमाए ।’
बीएलएले यो युद्ध अझै नसकिएको बताएको छ । उसले युद्धलाई तिव्र पारिएको बताएको छ । आफ्नो स्वतन्त्रताको लागि लडिरहेका बलुच लडाकुहरूले निरन्तर आक्रमण गरिरहेका छन् । पाकिस्तानी सेनाले आफ्ना सैनिकहरूको शव उठाउन सकेको छैन ।
बीएलएले १२ मार्चमा जाफर एक्सप्रेस अपहरण गरेको थियो । त्यसको भोलिपल्ट अर्थात् मार्च १३ मा पाकिस्तानी सेनाले रेल अपहरणको संकट समाप्त भएको दाबी गरेको थियो । पाकिस्तानी सेनाले ३३ बलुच लडाकुहरूलाई मारेको जनाएको छ । यस कारबाहीमा केही बन्धकहरू पनि मारिएको सेनाले जनाएको छ ।
जाफर एक्सप्रेस मार्च ११ का दिन बिहान ९ बजे क्वेटाबाट पेशावरको लागि प्रस्थान गरेको थियो । सिबीमा यसको आगमन समय दिउँसो साढे एक बजे थियो । यसअघि दिउँसो १ बजेतिर, बलुचिस्तानको बोलान जिल्लाको मशकाफ क्षेत्रमा गुडालर र पिरु कुन्रीको बीचमा बलुचिस्तान लिबरेशन आर्मीले यो आक्रमण गरेको थियो । यो पहाडी क्षेत्र हो जहाँ १७ वटा सुरुङ छन्, जसका कारण रेल सुस्त गतिमा चलाउनुपर्छ । यसैको फाइदा उठाउँदै बुलुच लडाकुले रेलमा अक्रमण गरेको थियो ।