वासिङ्टन । अमेरिकी उपराष्ट्रपति जेडी भन्सले ग्रीनकार्डधारकहरूलाई सधैँभरि अमेरिकामा बस्ने अधिकार नभएको बताएका छन् । उनले एक टिभी च्यानललाई अन्तरवार्ता दिँदै ग्रीनकार्डधारकहरु सधैँ अमेरिका बस्न नपाउने बताएका हुन् ।
सरकारलाई ग्रीनकार्डधारकहरूलाई देशबाट निकाला गर्ने अधिकार भएको पनि उनले बताएका छन् । अमेरिकी ग्रीनकार्डलाई कानुनीरूपमा स्थायी बासिन्दा कार्ड भनेर चिनिन्छ । यसले विदेशीहरूलाई अमेरिकामा स्थायीरूपमा बस्न र काम गर्ने अधिकार पनि दिन्छ ।
अमेरिकामा सबैभन्दा धेरै मेक्सिकन नागरिकहरु ग्रीनकार्ड लिएर बसेका छन् । भारतीय नागरिकहरु पनि ठूलो संख्यामा ग्रीनकार्ड लिएर अमेरिका बसोबास गर्दै आएका छन् । नेपालीहरु पनि ठूलो संख्यामा अमेरिकामा ग्रीनकार्ड लिएर बस्ने गरेका छन् । अहिले उनीहरु कुनैपनि बेला अमेरिकाले देश निकाला गर्ने हो कि भन्ने चिन्तामा देखिन्छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ नामक भिसा कार्यक्रमको प्रचार गरिरहेका बेला भान्सको यो भनाइ आएको हो । कुनै पनि विदेशी नागरिकले ५० लाख अमेरिकी डलर तिरेर ‘गोल्ड कार्ड’ लिन सक्छन् । यो कार्ड लिएपछि अमेरिकी नागरिकता प्राप्त गर्ने बाटो खुला हुनेछ । ट्रम्पले यसलाई अमेरिकी नागरिकताको बाटोको रुपमा वर्णन गरेका छन् ।