ओटावा । मार्क कार्नी क्यानडाको २४औं प्रधानमन्त्री बनेका छन् । उनले शुक्रबार साँझ प्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन् । उनको शपथग्रहण राजधानी ओटावाको रिडाउ हलको बलरूममा भएको थियो ।
कार्नीसँगै उनको मन्त्रिपरिषद्ले पनि शपथ लिएको छ । मार्क कार्नीले फेब्रुअरी ९ मा लिबरल पार्टीको नेताको चुनाव जितेका थिए । कार्नीले ८५ दशमलव ९० प्रतिशत मत प्राप्त गरेका छनन् ।
मार्क कार्नीले क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिनेछन् । ट्रुडोले गभर्नर जनरलकहाँ गएर आधिकारिकरूपमा आफ्नो राजीनामा बुझाएका थिए । यसपछि नयाँ प्रधानमन्त्रीको रुपमा कार्नीले शपथ लिएका हुन् ।
मार्क कार्नी एक अर्थशास्त्री र पूर्वकेन्द्रीय बैंकर हुन् । कार्नी २००८ मा बैंक अफ क्यानडाको गभर्नर निर्वाचित भएका थिए । क्यानडालाई मन्दीबाट बाहिर निकाल्न उनले चालेका कदमहरूका कारण, बैंक अफ इङ्गल्याण्डले उनलाई २०१३ मा गभर्नर पदको प्रस्ताव गरेको थियो ।
बैंक अफ इङ्गल्याण्डको तीन सय वर्षे इतिहासमा गभर्नरको जिम्मेवारी पाउने उनी पहिलो गैर–ब्रिटिश नागरिक थिए । ब्रेक्जिटको समयमा लिइएका निर्णयहरूले उनलाई बेलायतमा प्रसिद्ध बनाएको थियो ।