गुल्मी । सत्यवती गाउँपालिकाको जोहाङ्ग खैरेनीमा भएको नेपाली कांग्रेस क्षेत्र नम्बर–१ गुल्मीको प्रथम क्षेत्रीय सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले सरकारले शिक्षकको मागलाई सम्बोधन गर्नु जरुरी रहेको बताएका छन् ।
नागरिकको नजिकको साथी र समाजलाई सकारात्मक दिशामा हिँड्न सिकाउने शिक्षकको मागलाई तत्काल सम्बोधन गर्नु जरुरी रहेको भन्दै नेता भण्डारीले सरकारले शिक्षकको मागलाई सम्बोधन गर्न नसक्दा शिक्षक आन्दोलित भएको आरोप लगाए ।
राजनीतिक दलसँगै सरकारमा रहेका नेतृत्व र नेताका कारण शिक्षक सदरमुकाम र राजधानीका सडकमा आन्दोलन गर्न बाध्य भएको बताउँदै उनले शिक्षककै असल शिक्षण सिकाइका कारण आफूहरु नेता बनेको भुल्न नहुने बताए ।
सरकारले तुरुन्त शिक्षकका मागलाई सम्बोधन गर्नुपर्ने भन्दै भण्डारीले आफू सधै शिक्षक र देशको शिक्षा सुधारको पक्षमा निरन्तर लागेको बताए । उनले सरकारले विद्यालयमा भएका हरेक समस्या समाधानलाई विशेष प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो।
नेता भण्डारीले प्राकृतिक स्रोत र साधनसँग आम नेपाली नागरिक जोड्न सकिएमा सजिलै देशमा गरिबीको अन्त्य हुने भन्दै विदेशीयका नेपाली नागरिकलाई स्वदेश फर्काउन तिनै तहका सरकारले विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताए।