काठमाडौं । तहगतरुपमा सबै अनुभव नै हासिल नगरे पनि डीआईजीबाट एकैचोटी आईजीपी बनेका बसन्त कुँवर नेपाल प्रहरीको विगतको मर्यादा र परम्परालाई भताभुङ्ग बनाएर कलङ्कको भारी छोडेर आजबाट अनिवार्य अवकाश भएका छन् । ज्ञानको कमी, द्रव्य मोह, अक्षमता र घमण्डका कारण उनले नेपाल प्रहरीको विगतको गरिमा र परम्परालाई भताभुङ्ग बनाएर बिदा भएपछि नयाँ आउने आईजीपीले त्यसलाई सच्याएर जाने हुन कि त्यसैलाई नयाँ निरन्तरताको मार्ग बनाउने हुन त्योचाहिँ हेर्न बाँकी छ ।
तर निर्वतमान आईजीपी कुँवरले रवी लामिछानेका गलत क्रियाकलापहरुमा भएका छानबिनमा फरक प्रसङ्गमा बोलेका फरक–फरक कुरा र दिएका एक–अर्कामा बाझिने निर्देशनहरु र दुर्गा प्रसाईका बारेमा गरेको बेइमानी नेपालमा प्रहरी प्रशासन रहुन्जेल नमेटिने कलङ्क बनेर बस्नेछ । यसका अतिरिक्त कुँवरले अतिरिक्त आम्दानीका लागि प्रहरी प्रशासनभित्रैबाट मच्चाएको उठौतीपुठौतीको आतङ्क प्रहरी प्रशासनभित्र सदैव अविस्मरणीय रहनेछ ।
कलङ्कको भारी बोकेर आईजीपीबाट कुँवर बिदा भएसँगै नेपाल प्रहरीका तीन एआईजीहरु माओवादी निकट मानिने दिपक थापा, सालिन व्यक्तित्व देखिएका सुदिप गिरी र टेकबहादुर तामाङ आईजीपी हुने अन्तिम प्रतिस्पर्धामा छन् । यी तीनमध्ये जो आईजीपी भए पनि निवर्तमान आईजीपी कुँवरले लगाएको कालो धब्बा मेट्न मुस्किल हुनेछ ।