काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)को लागि पाँच जनाको नाम सिफारिस भएको छ । नेप्सेको सीईओ सिफारिस समितिले आवेदन दिएका मध्येबाट आइतबार चुडामणि चापागाई, नारदकुमार लुइटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम सिफारिस गरेको हो ।
नाम सार्वजनिक भएका पाँचै जनालाई समितिले यही चैत ६ गते आफ्नो व्यावसायिक कार्ययोजना, आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रहरू लिएर उपस्थित हुन आग्रह गरेको छ । नेप्सेको प्रमुख कार्यकारी अधिकृत खुला प्रतिस्पर्धाद्वारा नियुक्त गर्नुपर्ने कानुनी व्यवस्थाका आधारमा यही फागुन १२ र फागुन १८ गते प्रमुख कार्यकारीको लागि सार्वजनिक सूचना जारी गरी आवेदन माग गरिएको थियो ।
यसअघि समितिले आवेदन दिएका मध्ये १० जनाको नाम ‘सर्टलिस्ट’ गरेको थियो । सर्टलिस्टमा पर्नेहरूमा युवराज दाहाल, प्रविण अधिकारी, बिमलकुमार तिवारी, कृष्णबहादुर कार्की र मुकुन्दराज जोशी पनि थिए । अर्थ मन्त्रालयले नेप्सेको भावी प्रमुख कार्यकारी छनोटको लागि फागुन ११ गते सेवन्तक पोखरेलको संयोजकत्वमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र डा. खोमराज खरेलसहितको तीन सदस्य गठन गरेको थियो ।