काठमाडौं ।वसन्त ऋतुको सुरुवातसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारी तीव्र पारिएको छ । आरोहणको याम सुरु भएसँगै आरोहण व्यवस्थापनको मुख्य कार्य(बाटो बनाउने)लाई जोड दिइएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले जनाएको छ ।
एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार ‘आइसफल डाक्टर’को टोलीले सगरमाथा आधारशिविर पुगेर क्याम्प सेट गर्ने कार्य सुरु गरेका छन् । ‘क्याम्प सेट’को कार्य करिब १० दिनमा सक्ने जनाइएको छ । यस पटक छिरिङ तेन्जिङ शेर्पासहित आठ जना अनुभवी ‘आइसफल डाक्टर’का टोलीहरू आधार शिविर पुगेर व्यवस्थापन गर्न खटिएका छन् । आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाको नेतृत्वमा दुई वटा छुट्टा–छुट्टै टोली गठन गरिएको छ । टोलीमा मिङ्मा ग्याल्जेन शेर्पा, दाबाछिरी शेर्पा, दाबानुरु शेर्पा, निमतेन्जी शेर्पा, तेन्डु शेर्पा र लाक्पासोना शेर्पा रहेका छन् ।