काठमाडौं, साउन १२
हिमालय एयरलाइन्सले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि विभिन्न अस्पताल तथा निकायलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कम्पनीले आम्दा अस्पताल, दमक र सीसीएमसी, गुल्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हालै झापाको दमकस्थित आम्दा अस्पताललाई पोर्टेबल भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री तथा कोभिड–१९ सफ्ट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी), गुल्मीलाई पीसीआर उपकरण हस्तान्तरण गरेको छ ।
शनिबार पनि एरलाइन्सले पीसीआर ९एनएइ ३२, आइसिटी ओबी १६ उपकारण र अन्य अत्यावश्यक स्वास्थ्य उपकरण तथा सामग्री ५१ हजार २ सय थान डिस्पोजेबल मेडिकल मास्क, ६ सय ६ थान मेडिकल फेस शिल्ड, ५ सय ७५ थान मेडिकल चस्मा, ४० थान मेडिकल इन्फ्रारेड थर्मोमिटर, ३५ जोर प्रोटेक्टिभ बुट र पाँच जोर डिस्पोजेबल पञ्जा सीसीएमसी गुल्मीलाई प्रदान गरेको छ । सबै स्वास्थ्य सामग्री परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले संयुक्तरुपमा सीसीएमसीको कार्यालय रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाललाई हस्तान्तरण गरेका थिए ।
परराष्ट्रमन्त्री ज्ञवालीले सफ्टको क्षणमा स्वास्थ्य सामग्रीको परिमाण प्रयाप्त नभएको र नेपाल मात्र नभई विश्व नै कठिन चरणमा गुज्रिरहेको अवस्थामा एयरलाइन्सबाट प्राप्त सहयोगले कोभिड रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा निरन्तर खटिएका स्वास्थ्यकर्मीलाई बचाउन मद्दत गर्ने बताए । एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले सरकारी अभियानमा सारथी बन्न पाउँदा कम्पनी गौरवान्वित भएको भन्दै कठिन परिस्थितिमा सरकारका आगामी काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
एयरलाइन्सका अध्यक्ष झोउ एन्योगले आम्दा अस्पताललाई एक पोर्टेबल भेन्टीलेटरसहित ५ सय थान आरडीटी किट, १ सय थान पीपीई सेट, ५ सय थान एन ९९५ मास्क, दुई हजार जोर सर्जिकल मास्क, पाँच हजार जोर डिस्पोजेबल पञ्जा र पाँच इन्फ्रारेड थर्मोमिटर हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । हिमालयले सरकारको कोभिड–१९ कोषमा एक करोड रकम योगदानका अलावा एअरलाइन्सले हालसम्म १ सय ७७ टन अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्ति गर्न २४ वटा चार्टर्ड उडान गरेको छ । त्यस्तै विभिन्न मुलुकमा रहेका एक हजार १ सय ४० नेपालीलाई स्वदेश फिर्ता गर्न ६३ वटा उडान सफलतापूर्वक सञ्चालन गरिसकेको जनाएको छ ।