काठमाडौं, शेयर बजारको ओरालो यात्राले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २१ दशमलव ६३ अंकले ओरालो लागेको नेप्से परिसुचक आज पुन १० दशमलव १४ अंकले ओरालो लागेर २७ सय चार दशमलव ७० बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ९५ अंकले ओरालो लागेर चार सय ५३ दशमलव ९५ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ३१ वटा कम्पनीहरुको ५७ हजार पाँच सय ८५ पटकको कारोबारमा ९९ लाख ३५ हजार आठ सय ७२ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब ४० करोड ८३ लाख १४ हजार ७५ रुपैंयाँ पुगेको छ । धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् भने फाईनान्स, होटल तथा पर्यटन, लगानी र उत्पादनमुलक उपसमुहको सुचक उकालो लागेका छन् । सामुहिक लगानी कोष उपसमुहको सुचक भने आज स्थिर देखिएको छ ।