काठमाडौँ, प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हालेका छन्। पद बहालीसँगै उहाँले मुलुकको शान्ति सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट गरे । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार उक्त पदमा पदोन्नति पाउनुभएका उनलाई आजै गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिह्नबाट सुशोभन गरेका थिए।
त्यस अवसरमा गृहसचिव दुवाडीले गौरवशाली सङ्गठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गर्नुभएकामा प्रहरी महानिरीक्षक थापालाई हार्दिक बधाई तथा सफल कार्यकालको सफलताको कामना गरे । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारी, प्रहरी नायब महानिरीक्षक एवं सञ्चारकर्मीहरूको सो अवसरमा उपस्थिति थियो ।
पद बहालीपछि महानिरीक्षक थापाले नेपाल प्रहरीको श्रीवृद्धिका साथै मुलुकमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्नु आफ्नो उद्देश्य भएको बताउँदै त्यसलाई साकार तुल्याउन सङ्गठनका सबैबाट योगदान हुने विश्वास व्यक्त गरे । पद बहालीअघि उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै कार्यालय परिसरमा निमको बिरुवा रोपे । रासस