काठमाडौं । प्रहरीले सोमबार राति काठमाडौंको टोखाबाट २५ करोड २२ लाख ४५ हजार रुपैयाँबराबरको विदेशी मुद्रासहित कुसाङ लामालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ठूलो परिमाणमा अमेरिकी डलरसहितका विदेशी मुद्रा राजस्व छली गरी ओसारपसार तथा कारोबार गरेको सूचनाका आधारमा सोमबार बेलुका टोखा नगरपालिकास्थित झोरबाट उक्त रकम बरामद गरेको हो ।
ना ७ ख १६५१ नं.को मालवाहक ट्रकको चालक बस्ने ठाउँमा ‘फल्सबटम’ बनाई लुकाईछिपाई ल्याएको अवस्थामा सवारीचालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका ४३ वर्षीय कुसाङ लामासहित पक्राउ गरिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
बरामद गरिएको विदेशी मुद्रामा अमेरिकी डलर एक सय दरका तीन हजार एक सय १९ थान, अमेरिकी डलर ५० दरका एक सय ७९, युरो पाँच सय दरका ११ थान, युरो दुई सय दरका चार सय ८०, युरो एक सय दरका चार हजार एक सय ४८ थान, युरो ५० दरका १७ हजार एक सय ७७ थान रहेको कार्यालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
बरामद गरिएका विदेशी मुद्रासहित निजलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।
प्रहरीले सुन किन्नका लागि सो रकम पठाउन लागिएको प्रारम्भिक सूचना प्राप्त गरेको तर त्यति धेरै पैसा कसरी जम्मा गरियो भन्ने कुराको अनुसन्धान नभइरहेको जनाएको छ । सो पैसा ओसारपसारमा संलग्न लामा सात किलो अवैध सुन तस्करीको आरोपमा कलंकीबाट समातिएर २०७८ मा पुसमा छुटेका थिए । सो घटनामा लामा सहित चार जना पक्राउ परेका थिए । त्यतिबेला पनि उनी भरियाको रुपमा जोडिएको भेटिएको तर त्यो सुनको मालिक को थियो भन्ने खुलेको थिएन । अहिले पनि अमेरिकी डलर र युरोपियन युरो कसले जम्मा गरेर पठाउन लागेको हो भन्ने कुरा खुली नसकेको प्रहरीले जनाएको छ ।
लामाले सो पैसा एक चिनियाँ नागरिकले दिएको दाबी गरेको बुझिएको छ । चिनियाँ नागरिकले दिएको सामान आफुले गाडीमा राखेर पुर्याइदिन लागेको उनले बताएको प्रहरी स्रोतले जानकारी दिएको छ ।