काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने निक्षेपकर्ताकोे तुलनामा कर्जा लिने ऋणीको संख्या निकै कम छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०८१ माघ मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थामा खोलिएका नक्षेप खाताको खाता संख्या पाँच करोड ७९ लाख ६२ हजार चार सय ६२ छ । जुन सञ्चालनमा रहेका कुल कर्जा खाताको तुलनामा पाँच करोड ६० लाख ३२ हजार छ सय ६९ ले बढी हो । गत माघसम्म कुल कर्जा खाता संख्या १९ लाख २९ हजार सात सय ९३ मात्र छ ।
एक वर्षअघि २०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थामा सञ्चालनमा रहेका निक्षेप खाताको संख्या पाँच करोड ४० लाख ७७ हजार ७३ थियो । जुन कुल कर्जा खाताको तुलनामा पाँच करोड ५२ लाख पाँच हजार आठ सय १४ वटाले बढी हो । गत वर्ष माघसम्म कुल कर्जा खातासंख्या १८ लाख ७१ हजार छ सय ५९ मात्र थियो ।
गत माघसम्म वाणिज्य बैंकहरूमा मात्र सञ्चालनमा रकेको निक्षेप खाताको संख्या चार करोड ९६ लाख ५८ हजार छ सय १८ छ । जुन कुल कर्जा खाताको तुलनामा चार करोड ८० लाख ४७ हजार एक सय ६१ वटाले बढी हो । वाणिज्य बैंकहरूमा कुल कर्जा खाता १६ लाख ११ हजार चार सय ५७ वटा सञ्चालनमा छन् । एक वर्षअघि २०८० माघ मसान्तमा कुल निक्षेप र कर्जा खाता संख्याको फरक चार करोड ४८ लाख २८ हजार ३५ थियो । गत वर्ष वाणिज्य बैंकहरूमा सञ्चलन रहेका निक्षेप खाता संख्या चार करोड ६३ लाख ६८ हजार दुई सय ९८ र कर्जा खाता संख्या १५ लाख ४० हजार दुई सय ६३ थियो ।
विकास बैंकहरूमा गत माघसम्म कुल कर्जा खाताको तुलनामा निक्षेप खाता संख्या ७० लाख ८६ हजार तीन सय ७० वटाले बढी छ । राष्ट्र बैंकका अनुसार निक्षेप खाता ७३ लाख ६० हजार तीन सय ९३ वटा र कर्जा खाता दुई लाख ७४ हजार २३ छ । एक वर्षअघि निक्षेप खाता ६८ लाख ६४ हजार आठ सय सातवटा र कर्जा खाता संख्या दुई लाख ८९ हजार ९६ थियो ।
फाइनान्स कम्पनीहरूमा कुल निक्षेप र कर्जा खाता संख्याको बीचमा आठ लाख ९९ हजार एक सय ३८ वटाले फरक छ । यस अवधिमा फाइनान्स कम्पनीहरूमा नौ लाख ४३ हजार चार सय ५१ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जा खाताको संख्या भने ४४ हजार तीन सय १३ वटा मात्र रहेको छ । एक वर्षअघि फाइनान्स कम्पनीहरूमा निक्षेप र कर्जा खाता संख्याको बीचमा आठ लाख दुई हजार ६८ वटाले फरक देखिएको थियो । उक्त अवधिमा फाइनान्स कम्पनीहरूमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या आठ लाख ४४ हजार तीन सय ६८ पुग्दा कर्जा खाताको संंख्या ४२ हजार तीन सय मात्र थियो ।