काठमाडौं, साउन १२
हिमालयन बैंकले विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राखी ११ प्रकारका विशेष कर्जा योजना सार्वजनिक गरेको जानकारी दिएको छ । विशेष कर्जाअन्तर्गत आठ दशमलव ४९ प्रतिशत ब्याजदरमा छ प्रकारका र नौ दशमलव ८९ प्रतिशत ब्याजदरमा पाँच प्रकारका कर्जा योजना सार्वजनिक गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार आठ दशमलव ४९ प्रतिशत ब्याज दरको कर्जा योजनामा एसएमई कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यावसायिक कम्प्लेक्स निर्माण कर्जाहरू रहेका छन् । यसैगरी नौ दशमलव ८९ प्रतिशत ब्याजको कर्जा योजनामा सेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यवसायिक कर्जा, सुविधा कर्जा र व्यक्तिगत कर्जा रहेका छन् ।
बैंकले १० दशमलव ३९ प्रतिशत ब्याजदरमा व्यवसायिक सवारी साधन कर्जा पनि ल्याएको छ । बैंकका अनुसार दश वर्षको अवधि सम्मका लागि पाइने एसएमई कर्जा ग्राहकहरूले न्यूनतम पाँच लाखदेखि छ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्दछन् । बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ । ग्राहकहरूले घर निर्माण वा घरजग्गा खरिदका लागि सो कर्जा उपयोग गर्न सक्नेछन् । शैक्षिक कर्जा योजना स्वदेश वा विदेशमा पढ्न चाहना राख्ने विद्यार्थीहरूका लागि निकै उपयोगी जानकारी बैंकले दिएको छ ।
बैंकका अनुुसार विशेष सहज, सरल कर्जा योजनामा लागु हुने ब्याजदरको प्रिमियम न्यूनतम एक वर्षको लागि स्थिर रहने व्यवस्था गरेको छ । यी सम्पूर्ण कर्जाहरूको सेवा शुल्क पनि हालसम्मकै न्यून रहनेछ र यी कर्जाका ग्राहकहरूले क्रेडिट कार्डको सुविधा पनि एक वर्ष निःशुल्क पाउनेछन् । ग्राहकहरूले बैंकको कुनै पनि शाखा कार्यालयहरूमार्फत यी कर्जा सुबिधा उपयोग गर्न सक्नेछन् । बैंकले हाल देशभरिका ६८ शाखाहरूबाट वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।