दोलखा । आउँदो नयाँ वर्ष २०८२ लाई स्वागत गर्न दोलखामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । नयाँ वर्षलाई उत्सवमय बनाउन यहाँका राजनीतिक दल, व्यापारिक तथा सामाजिक संघ/संस्थाहरूले खेलकुद प्रतियोगिता, सडक खाना महोत्सवदेखि धार्मिकोत्सवलगायतका कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।
जिल्लामा नयाँ वर्षको पूर्वसन्ध्यामा सर्वाधिक धनराशि पुरस्कारको भलिबल प्रतियोगिता आयोजना गरिएको छ भने सदरमुकाम चरिकोटमा तीनदिने सडक खाना महोत्सव फुड फेस्टिभल र विभिन्न सामूहिक धार्मिक कार्यक्रमको समेत आयोजना गरिने भएको छ । नेपाली कांग्रेसका स्वर्गीय नेता भीमबहादुर तामाङको १३औं स्मृतिको अवसरमा बागमती प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता यहीँ चैत १३ गतेदेखि वैतेश्वर–३को मिर्गे लहरेमाने खेल मैदानमा हुनेछ । सर्वाधिक धनराशि सात लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार रहेको सो प्रतियोगिता नेपाली कांग्रेस दोलखा प्रदेश सभा ‘क’ को कार्यसमितिले आयोजना गर्न लागेको हो ।
समग्र जिल्लाको खेलकुद विकाससँगै दोलखालाई बागमती प्रदेशकै पर्यटन हव जिल्लाको रूपमा प्रवद्र्धन गर्न सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस दोलखा प्रदेश सभा ‘क’ का सभापति शुक्रराज तामाङले जानकारी दिए । सो प्रतियोगितामा बागमती प्रदेशभित्रका २० भन्दा बढी टिमलाई सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने टिमले क्रमशः चार लाख, दुई लाख, एक लाख र पचास हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
चरिकोटमा तीन दिने सडक खाना महोत्सव
यसैगरी निजी क्षेत्रको संस्थाहरू नेपाल चेम्बर अफ कमर्स दोलखा र होटल व्यवसायी संघ दोलखाको आयोजनामा सडक खाना महोत्सव स्ट्रिट फुड फेस्टिभल आयोजना गरिएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन तथा सुस्त रहेको अर्थतन्त्र चलायमान गराउन महोत्सव गर्न लागिएको चेम्बर दोलखाका अध्यक्ष रुद्रजंग बुढाथोकीले बताए ।
लामोसाँघु जिरी राजमार्गको केन्द्रको रूपमा रहेको चरिकोटमा आउँदो चैत ३१ गतेदेखि वैशाख २ गतेसम्म तीन दिने फुड फेस्टिभल महोत्सव हुनेछ । ‘सडकमै खाऔँ, सडकमै रमाऔँ । रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको फेस्टिभलमा स्थानीय खानाका मौलिक परिकारलगायत अन्य विभिन्न खानाका स्वाद लिन सकिनेछ । साथै, महोत्सवमा परमपरागत सांस्कृतिक झाँकीहरू, स्वदेशगानमा नृत्य प्रतियोगिता, लाइभ दोहोरीलगायतका कार्यक्रम समेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।
एक हजार लामा गुरु चरिकोटको टुँडीखेलमा भेला हुँदै
विश्व शान्तिको लागि १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पूजा २०८१/०८२ चरिकोटमा हुने भएको छ । आउँदो चैत्र १७ गते देखि २६ गतेसम्म १० दिन १० करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पूजा मेला चरिकोटस्थित टँुडिखेलमा आयोजना गर्न लागिएको हो ।
कार्यक्रमका संयोजक खेम्पो पेमाछिरी शेर्पाले कार्यक्रम चैत १७ गतेदेखि दशदिनसम्म टुँडीखेलमा करिब एक हजार लामाहरू सहभागी भई दैनिकरूपमा मन्त्र जप गर्नेछन् । कार्यक्रममा देश तथा विदेशका विभिन्न लामाहरू सहभागी हुने आयोजकले जनाएको छ । यस धार्मिक कार्यक्रमले दोलखालाई विश्वसम्म चिनाउन टेवा पुग्ने तथा जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुने आयोजकको अपेक्षा छ ।
वैशाख १ गते शैलुङमा सामूहिक लघुरुद्री पूजा
दोलखाको धार्मिक एवम् पर्यटकीय केन्द्र शैलुङमा रहेको शैलुङ्गेश्वर महादेव मन्दिर तथा भीमसेन शिला तरबारमा वैशाख १ गते सामूहिक लघुरुद्री पूजापाठ हुने भएको छ । शैलुङ्गेश्वर महादेव मन्दिर तथा भीमसेन शिला तरबारमा लघुरुद्री हुन लागेको हो ।
शैलुङ गाउँपालिका वडा नम्बर–८ शैलुङको थुम्कामा रहेको शैलुङ्गेश्वर महादेव मन्दिर र भीमसेन शिला तरवारमा एसएस फाउन्डेसनको आर्थिक सहयोगमा शैलुङ पर्यटन तथा कालापानी बजार टोल विकास संस्थाले सामूहिक लघुरुद्री पूजा आयोजना गर्न लागेको जनाइएको छ ।