दमक । बिरामी बोकेको एम्बुलेन्स झापाको दमकमा बुधवार बिहान दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एम्बुलेन्स दुर्घटनामा परेर पाँच जना गम्भीर घाइते भएका छन् । मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडबाट बिरामी लिएर विराटनगर तर्फ जाँदै गर्दा बुधवार बिहान १ बजे सो दुर्घटना भएको हो ।
मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्र १–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स दमकको मुख्य चोक नजिकै पूर्वपश्चिम लोक मार्ग अन्तर्गत दमक ५ गोर्खा डिपार्टमेन्ट अगाडी सडकमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
एम्बुलेन्स चालक बिर्तामोड ५ का ३५ वर्षीय कमल अधिकारी सहित एम्बुलेन्समा सवार अर्जुनधारा नगरपालिका वडा नम्बर १० का २० वर्षीय विशाल लिम्बु, २३ वर्षीया वर्षा लिम्बु, सोही ठाउँकी १९ वर्षीया आरजु राई, सोही ठाउँकी ५१ वर्षीया मिना लिम्बु र २१ वर्षीय अन्जेश लिम्बु दुर्घटनामा परेर घाइते भएका छन् ।