विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा ढाका महोत्सव हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा यही चैत ७ देखि ९ गतेसम्म विराटनगरको मेनरोडमा रहेको जैन भवनमा बृहत्त ढाकाकपडा महोत्सव हुने भएको हो ।
महोत्सवमा कोशी प्रदेशका महिला उद्यमीहरूले तयार गरेका मौलिक ढाका कपडाका सामग्रीको भब्य रुपमा प्रदर्शनी गरिने उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । महासंघ कोशी प्रदेशको महिला उद्यमी विकास समितिको संयोजनमा हुने महोत्सवलाई प्रदेशको सामाजिक विकास मन्त्रालयले सहकार्य गरेको छ । महोत्सवमा ढाका कपडाको व्यापार तथा लगानी प्रवद्र्धनका लागि ढाका उद्योगमा सम्भावित लगानी तथा व्यावसायिक अवसर, ढाका उद्योगका चुनौती, अवसर र प्रवद्र्धनका बारेमा महिला उद्यमीसँग संवाद गर्ने कार्यक्रम समेत राखिएको छ ।
अत्यन्तै कमजोर र निराशामा चलिरहेको अर्थतन्त्रलाई केही राहत पुुगोस् भन्ने उद्देश्यले आयोजना गरिएको ढाका कपडा महत्सवले अर्थतन्त्रलाई केही मात्रामा भए पनि चलायमान बनाउने अपेक्षा गरिएको महासंघ कोशी प्रदेशका अध्यक्ष राउतले जानकारी दिए । महोत्सवले कोशी प्रदेशका महिला उद्यमीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने, ढाका कपडाको व्यावसायिक सम्भावना बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने तथा स्थानीयस्तरमा महिला उद्यामशीलतालाई प्रोत्साहन गर्ने जनाइएको छ । ढाकाका कपडालाई अनिवार्य प्रयोग गर्ने वातावरणका लागि तीनै तहका सरकारले वातावरण बनाउन सके यसको व्यावसायिक कारोबारले राम्रो बजार पाउने महासंघको भनाइ छ ।