काठमाडौं । बीवाईडी अटो इन्डस्ट्रीले बीवाईडीका ब्याट्री अब पूर्णरूपमा रिसाइक्लिङ गर्ने भएको छ । ग्लोबल रिसाइक्लिङ डेको अवसरमा कम्पनीले कम्प्रिहेन्सिभ ब्याट्री रिसाइक्लिङ एन्ड रियुज प्रोग्रामलाई कार्यान्वयन गर्ने घोषणा गरेको हो ।
विश्व नै हाल इलेक्ट्रिक मोबिलिटीतिर लागिरहेको समयमा वास्तविकरूपमा दिगो ईभी इकोसिस्टम प्राप्तिका लागि जिम्मेवाररूपमा ब्याट्री व्यवस्थापन गर्नु महत्वपूर्ण छ । बीवाईडी त्यही महत्वपूर्ण कार्यमा अग्रसर भएको जनाइएको छ । बीवाईडीले दुई प्रमुख रिसाइक्लिङ सेवा प्रदायक कम्पनी अमेरिकाको क्यालिफोर्नियामा अवस्थित आईटी एसेट पार्टनर्स इंक र चीनको वुहुमा अवस्थित एन्हुई लेचेङ लिथियम–आयोन टेक्नोलोजी कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । सन् २०२४ मे २८ मा औपचारिकरूपमा घोषणा गरिएको सो सहकार्यले बीवाईडी ईभीमा प्रयोग भएका लिथियम–आयोन ब्याट्री प्याक र ब्याट्रीलाई सुरक्षित, उत्तरदायी र दक्षरूपमा रिसाइक्लिङ गर्ने कार्यलाई सुनिश्चित गर्नेछ ।
दुवै सेवा प्रदायक कम्पनीहरू आरटु सर्टिफाइड अर्थात रेस्पोन्सिबल रिसाइक्लर सर्टिफाइड हुन्, जसले दिगो रिसाइक्लिङको ग्लोबल स्ट्यान्डर्ड पूरा गर्छन् । रिसाइक्लिङ प्रक्रियाअन्तर्गत क्यापासिटी टेस्टिङ, सेफ डिस्म्यान्टलिङ, मेटरियल रिकभरी र इको–फ्रेन्ड्ली प्रोसेसिङ गरिन्छ । प्रयोग भइसकेको ब्याट्रीको पुनः प्रयोगको सम्भावनाको मूल्याङ्कन कार्य क्यापासिटी टेस्टिङमा गरिन्छ । प्रयोगमा नआउने ब्याट्रीलाई सावधानीपूर्वक नस्ट गर्ने कार्य अर्थात् सेफ डिस्म्यान्टलिङ गरिने जनाइएको छ । त्यसपछि लिथियम, निकेल र कोबाल्टजस्ता महत्वपूर्ण कच्चा पदार्थ निकाल्ने कार्य मेटरियल रिकभरीअन्तर्गत पर्छ भने अन्त्यमा यसरी रिसाइकल गरिएका सामग्रीहरू अनुमति प्राप्त कम्पनीहरूलाई उपलब्ध गराउने कार्य गरिन्छ । ब्याट्री उत्पादनदेखि रिसाइक्लिङसम्मको सम्पूर्ण प्रक्रियामार्फत बीवाईडीले इलेक्ट्रोनिक प्रदूषण घटाउने, प्राकृतिक सम्पदा संरक्षण गर्ने र कार्बन फुटप्रिन्टलाई न्यून गर्ने कार्यमा महत्वपूर्ण कदम चालेको कम्पनीले जनाएको छ ।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले इलेक्ट्रिक सवारीसाधन उत्पादन गर्नु मात्र नभई वास्तविकरूपमा सर्कुलर इकोनोमी निर्माण गर्नु नै दिगोपना भएको बताए । जिम्मेवार ब्याट्री रिसाइक्लिङप्रति कम्पनीको प्रतिबद्धताले उत्पादनदेखि नस्ट गर्ने कार्यसम्मको सम्पूर्ण ईभी टेक्नोलोजी वातावरणमैत्री हुने तथ्य सुनिश्चित गरेको उनको भनाइ छ । विश्वका धेरै ईभी प्रयोगकर्ता देशको रूपमा नेपाल समेत परिचित भइरहेको समयमा जिम्मेवार ब्याट्री डिस्पोजल र रिसाइक्लिङ प्रमुख प्राथमिकता हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।