तेल अभिभ । इजरायलले मंगलबार बिहानदेखि गाजामा फेरि हवाई आक्रमण सुरु गरेको छ । मंगलबार भएको इजरायली आक्रमणमा चार सय १३ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
यो आक्रमणसँगै गाजा र इजरायलबीच जनवरी १९ मा हस्ताक्षर भएको दुई महिना पुरानो युद्धविराम भंग भएको छ । इजरायलले आक्रमणको योजना बनाइरहेका आतङ्ककारीहरूलाई लक्षित गरिरहेको दाबी गरेको छ ।
गाजाको लडाकू संगठन हमासले फेरि युद्ध सुरु गर्ने नेतान्याहूको निर्णय इजरायली बन्धकहरूलाई मृत्युदण्डको सजाय जस्तै भएको बताएको छ । यो आक्रमणपछि हमासद्वारा बन्धक बनाइएका करिब ५९ इजरायली बन्धकहरूको रिहाइको बारेमा अनिश्चितता उत्पन्न भएको छ । अर्कोतर्फ, इजरायली सेनाले पूर्वी गाजा क्षेत्र खाली गर्न मानिसहरूलाई आदेश दिएको छ ।
इजरायलले हमासले आफ्ना बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र अमेरिकी राष्ट्रपति र मध्यस्थकर्ताहरूको सबै प्रस्ताव अस्वीकार गरेको कारणले आक्रमणहरू पुनः सुरु गरेको बताएको छ ।
हमासले इजरायलले जनवरी १९ मा लागू भएको युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ र इजरायललाई सैन्य कारबाही रोक्न दबाब दिन मध्यस्थकर्ताहरूलाई आह्वान गरेको थियो ।