विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशीले ‘आध्यन्त एक्सिलेरेटर र कोशीको लगानी सम्मेलन’ कार्यक्रम आयोजना गरेको छ । महासंघले आध्यन्त फन्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम र स्विसकन्ट्याक्टसँगको सहकार्यमा लगानी सम्मेलनको आयोजना गरेको हो ।
सम्मेलनमा कृषि, डिजिटल सेवा प्रदायक र पर्यटनसँग सम्बन्धित कोशी प्रदेशका उद्यमीहरूले लगानीकर्ता समक्ष लगानीका लागि आफ्नो उद्यमको कार्यकारी अवस्था प्रस्तुत गरेका थिए । हिमालयन ह्वाइट ड्रप डेरीका योगेन्द्र गिरी, बी एन्ड बी ब्रिडिङका भीम श्रेष्ठ, ब्राइट फिडका गोपाल श्रेष्ठ, नेपालीरिका होटलका आकाश दुलाल, गोर्खा टी स्टेटका सौरभ थपलिया, प्रथम आईटीका सुरज चिमरिया र जयपति डेरीका यादव ढकाललगायतका उद्यमीहरूले आफ्नो उद्यमबारे प्रस्तुति दिएका थिए । लगानीकर्ताको रूपमा टिम भेन्चर्स, अल्फा पल्स र एनआईएमबीएस. क्यापिटलको रहेको जानकारी गराइएको थियो ।
कार्यक्रममा जयपति कृषि फर्म र डीभी एक्सलेसले कामधेनु डेरीका किसानलाई दुुई लाख रुपैयाँसम्मको विनाधितो ऋण दिने जानकारी पनि दिइएको थियो । उक्त ऋण एन.आई.एम.बी.एस. बैंकमार्फत प्रदान गर्न सम्झौता–पत्रमा हस्ताक्षर समेत भएको छ । लक्ष्मी सनराइज बैंककी प्रमुख व्यवसाय अधिकारी आरतीराज्य लक्ष्मी रानाले यस्ता एक्सिलेरेटर कार्यक्रमहरूले व्यवसायीहरूको आत्मविश्वास बढाउन सकारात्मक भूमिका खेल्ने बताइन् । उनले यस्ता कार्यक्रमहरू निरन्तर हुनुपर्नेमा पनि जोड दिइन् । त्यसैगरी कृषि विकास बैंकका उप–महाप्रबन्धक मिनराज पोखरेलले कृषि र गैर–कृषि उद्यमीहरूलाई ऋण उपलब्ध गराउन बैंक इच्छुक रहेको जानकारी गराएका थिए ।
एक्स्लेरेटर कार्यक्रममार्फत उद्यमीहरूले आफ्नो व्यवसाय निर्माण र विस्तारका विभिन्न क्षेत्रमा तालिम समेत प्राप्त गरेका छन् । यस कार्यक्रमसँगै आध्यन्त एक्सिलेरेटर कार्यक्रमको दोस्रो सत्र पनि औपचारिकरूपमा समापन भएको जनाइएको छ । यस्तै, आध्यन्तले पहिले पनि कोशी प्रदेशमा लगानी सम्मेलन आयोजना गरिसकेको जानकारी दिएको छ । कार्यक्रममा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर गुरुङले लगानी विनाउद्यमको विकास सम्भव नहुने बताए । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गामले नेपाली वस्तुहरूले विदेशी बजार पाउन सके थप आर्थिक विकास सम्भव हुने उल्लेख गरे ।
महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्सिलेरेटर कार्यक्रमअन्तर्गत महासंघमा स्थापना गरिएको बिजनेस ग्रोथ सेन्टरबारे जानकारी दिएका थिए । उनले केन्द्रले व्यवसाय विकास सेवाहरू खोज्ने उद्यमहरूलाई प्रत्यक्षरूपमा समर्थन प्रदान गर्ने उल्लेख गरे । यो कार्यक्रमले कोशी प्रदेशमा व्यापार र रोजगारका लागि सकारात्मक प्रभाव पार्नेमा जोड दिए ।