काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाका श्रमिकहरूलाई सात दिनभित्र रोजगार सम्झौता–पत्र दिइने भएको छ ।
रोजगारदाता कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधान पालना नगरेपछि श्रमिकहरू आयोजनको काम ठप्प पारेर आन्दोलनमा उत्रेका थिए । श्रमिकहरूले उठाएको मुद्दामा सिनो हाइड्रोले सहमति जनाएसँगै उनीहरू बुधबारदेखि काममा फर्किएका छन् । आयोजनास्थल बिगु गाउँपालिकाका प्रमुख सञ्जीव ओलीसहितका जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधि, तामाकोशी जलविद्युत् कम्पनीका प्रतिनिधिसहितको रोहवरमा सिनो हाइड्रोले श्रमिकको माग सम्बोधन गर्ने सहमति जनाएको हो ।
सहमतिअनुसार सिनो हाइड्रोले त्यहाँ कार्यरत सबै नेपाली श्रमिकलाई सात दिनभित्र रोजगार सम्झौता–पत्र उपलब्ध गराउनुपर्नेछ । रोजगार सम्झौता–पत्रमा नेपालको श्रम कानुनले व्यवस्था गरेको सम्पूर्ण सेवा सुविधाहरू उल्लेख गर्ने सहमति भएको छ । साथै, कम्पनी र कर्मचारीबीच कुनै विवाद वा असन्तुष्टि भएमा कार्यालयमा जानकारी गराई विवाद निरुपण गर्ने सहमति भएको श्रमिकहरूका संयोजक जीवन मगरले जानकारी दिए ।