काठमाडौं । मार्च महिनाको पहिलो हप्ता, एनएमबी बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य गर्दै र युरोपियन युनियनको कार्यक्रमको सहयोगमा तीन–दिने तालिम सञ्चालन गरेको छ । सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू—ऊर्जा, कृषि व्यवसाय र सानो तथा मध्यम उद्यम क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो ।
नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले, तालिमले बैंकिङ तथा व्यवसायसम्बन्धी अभ्यासहरूलाई समाहित गर्न जोड दियो, जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्याउँछ । आईएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे गहिरो ज्ञान हासिल गर्न बैंकका व्यावसायिक टोली, जोखिम अधिकृतहरू तथा ग्राहकहरू गरी ९० जना सहभागी भए ।
उच्च सहभागितामूलक यस कार्यक्रमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनस्र्थापना र स्रोत दक्षताजस्ता विषयहरूमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गर्यो । यस पहलले जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै, बैंक र यसको ग्राहकहरूको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको छ । बैंकले हाल देशभर दुई सय दुई शाखाहरू, एक सय ८७ एटीएमहरू र नौ वटा एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।