काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव गर्न लागेको छ ।
महोत्सव बिहीबारदेखि २०८२ वैशाख २९ गतेसम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरहरूमा आयोजना हुन लागेको नेपाल पर्यटन बोर्डले जनाएको छ । लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रको रूपमा प्रवर्द्धन गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रहरूबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदानप्रदानलाई प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको बोर्डले जनाएको छ । महोत्सवमा चैत ८ गते मायादेवी मन्दिरबाहिरको पवित्र उद्यानमा एक सय भिक्षु र चार सय साधकहरूको सहभागितामा ध्यान सत्र सञ्चालन हुनेछ । चैत ९ गते खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुनेछ ।
यसबीचमा लुम्बिनी शान्ति सांगीतिक कार्यक्रम, झोंग हुआ गुम्बाको २५औं वार्षिकोत्सवको अवसरमा फोटो प्रदर्शनी, बुद्ध दीक्षा समारोहलगायतका विविध कार्यक्रम गर्ने र वैशाख पूर्णिमाको दिन विशेष समापन समारोह हुने बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक समिति, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोट्र्स संघ, केजीएच ग्रुप, भिभो, दीपल, बुद्ध एयर जस्ता स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गर्ने छन् ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक जोशीले दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव नेपालले शान्ति र सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न गरेको प्रतिबद्धताको प्रतीकको रुपमा अघि बढाइएको बताए ।