विराटनगर । प्रेस सेन्टर नेपाल मोरङद्वारा बिहीबार यहाँ आयोजित अन्तरसम्वाद कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन यसलाई जनतामाझ लैजानुपर्ने बताएका छन् ।
गणतन्त्रबाट आमनागरिकले समान अधिकार पाउनुपर्नेमा जोड दिदै महासचिव चन्दले मुलुकमा युगान्तकारी परिवर्तन ल्याउने गणतन्त्र स्थापना नभएको भए मुलुक अझै अन्धकारमै हुन्थ्यो भने । उनले राजनीतिक दलका नेताहरूको भनाइ र गराइमा देखिएका अन्तरले अहिले असन्तुष्टि देखिएको चर्चा गरे ।
समाजवादको लक्ष्य पूरा गराउन पुँजी निर्माण हुनुपर्छ भन्दै महासचिव चन्दले सरकार शिक्षा, स्वास्थ्य र रोजगारका विषयमा चुकेको, पुँजी निर्माण र बचतको ज्ञान विस्तार नभएकाले नेपाली जनताले समस्या बेहोरिरहेको धारणा राखे ।
मुलुक सैद्धान्तिक र व्यावहारिक दृष्टिले पनि सङ्कटमा रहेको बताउँदै उनले माओवादी, समाजवादी र सबै कम्युनिष्टबीच एकताको प्रयास तथा छलफल भइरहेको जानकारी दिँए । उनले चैत १५ गते समाजवादी मोर्चाले गर्ने भेला शान्तिपूर्ण हुने उल्लेख गरे ।