काठमाडौं । शेयर बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि ओरालो लागेको छ । साताको सुरुवाती कारोबारदेखि नैं घट्न थालेको नेप्से आज पुन १२ दशमलव ३८ अंकले ओरालो लागेर २६ सय ६९ दशमलव ७६ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९७ अंकले घटेर चार सय ४७ दशमलव ९४ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १२ वटा कम्पनीहरुको ५५ हजार चार सय ७६ पटकको कारोबारमा ९५ लाख ९९ हजार तीन सय ४३ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ५६ करोड १३ लाख ११ हजार दुई सय ८२ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जीवन बीमा उपसमुहको सुचक सामान्य अंकले उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।