लहान । चैत १७ गते सुरु हुने विष्णु महायज्ञको लागि सिरहाको औरही गाउँपालिका(५ मा विष्णु महायज्ञ लगाउन सार्वजनिक स्थल ऐलानी जग्गामा बस्दै आइरहेका दलित दिपक मरिक (डुम)लाई अन्यत्र सारिएको छ । पुरै गाउँले मिलेर सहमति गरेपछि आफू बस्दै आएको घर बाध्य भएर खाली गर्नु परेको दिपक मरिककी श्रीमती अनिता मरिकले बताइन् ।
उनले भनिन “सबैले सहमति गरेर त्यही वडामा पर्ने श्री सुन्दर माध्यमिक विद्यालय औरहीको पश्चिम हुलाकी सडकको कल्भर्टको पानी बग्ने विद्यालयको दुई धुर जग्गामा दुई कोठाको फुसको घर बनाइदिएको छ । गाउँमा एक घर मात्र डुमको भएको हुनाले गाउँलेले गरेको निर्णय मान्नै पर्यो । न त्यहाँ खानेपानी न विद्युत केही छैन । खानेपानीको लागि निकै टाढा जानुपर्ने बाध्यता छ । वर्षाको सययमा जम्ने पानीले फेरि विस्थापित हुनुपर्ने डरले झन् सताएको छ ।”
महायज्ञको आयोजना गर्ने बजरङ्गी बाबाले विष्णु महायज्ञको लागि दिपक मरिक बसेको स्थान चयन भएदेखि नै अछुतो मान्ने डुमको आगाडि कसरी महायज्ञ गर्ने ? सर्त राखेपछि औरही गाउँका महायज्ञ गर्नेहरुले बैठक बसेर दिपक मरिकको घर खाली गराउन औरही गाउँपालिकाको जेसीवी लगाएर घरमा कोहि नभएको बेला घर भत्काएका थिए । गाउलेहरुले त्यस ठाउँलाई शुद्धिकरण गर्नको लागि घर रहेको ठाउँको दुई फिट माटो समेत हटाएका छन् ।
२०८१ फागुन ११ गते घर खाली गर्ने दिपक मरिकले स्वयम मञ्जुरीनामा कागज गरेपछि घर खाली गराएको, दिपक मरिकलाई घर खाली गराउन कुनै मानसिक सामाजिक दवाव नदिएको गाउँपालिका अध्यक्ष शिवजी यादवको भनाइ छ ।
जनता आवास कार्यक्रम अन्तर्गत दिपक मरिकको घर निर्माण गरिएको भन्दै राष्ट्रिय दलित आयोगको सदस्य समेत रहेका कबुली पासवानले घरमा कोहि नभएको समयमा गाँउपालिका अध्यक्ष शिवजी यादवले डोजर लगाएर घर भत्काई विष्णु महायज्ञको आयोजना गरिरहेको दाबी गरे । उनले मधेशमा दलित समुदायमाथि विभेद भएको भन्दै डुम समुदायमाथि धर्मको नाउँमा भइरहेको विभेदले संविधानले दिएको अधिकार समेत खोसिरहेको बताए ।
पटक पटक दलित समुदायमाथि सामाजिक विभेद भएर न्याय पाउन नसकिरहेको घट्ना सेलाउन नपाउँदै महायज्ञको नाममा दलितका लागि विस्थापित गर्ने घटनाको छानबिन गरी दोषी जो कोहि भएपनि कारबाही हुनुपर्ने मानव अधिकारवादी अगुवा राजकुमार राउतको माग छ । यस विषयमा प्रतिनीधि सभाको बिहिबारको बैठकमा विभिन्न सांसदले दोषीमाथि कारबाही गर्न माग गरेकाा छन् ।