राजावादीहरूले गत फागुन २५ गते राष्ट्र जोगाउनका लागि मानव सागर सडकमा उत्रिएको र सो प्रदर्शनीले राजा ल्याइसकिएको भन्ने भाष्य निर्माण गरी पटक–पटक दोहोर्याइरहेका छन् ।
त्यसपछि पूर्वपञ्चहरूले राजालाई फर्काउने भन्दै संयुक्त जनआन्दोलन समिति पनि गठन गरेका छन् । उनीहरूले राजा फर्काएर मात्र विश्राम लिने भन्दै यस्तो संयुक्त जनआन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । यस्तो आन्दोलनसँग जोडिएकाहरू निरन्तर छलफल र बैठकमा व्यस्त छन् । यो गएको २५ फागुनदेखि नै सुरु भएको क्रम हो ।
गद्दीच्यूत गरिएका राजाका परिवार फागुन २५ गते एक महिनाजति जाडो छलेर पोखराबाट काडमाडौं फर्किएका थिए । सो दिन पूर्वराजा ज्ञानेन्द्रको आगमन अरुबेलाभन्दा बेग्लै भयो । पूर्वपञ्चहरूका दलले स्वागत गर्दा आफ्नो शक्ति प्रदर्शन हुने ठानेर उनकै भनाइमा भव्य स्वागत भयो ।
तर, यही दिन सत्ताबाट हटाइएका यी राजाको ब्यानर छेउछाउमा अर्को एउटा बराबरी कदकै ब्यानर बोकिएको थियो । ‘राज संस्था पुनः स्थापना गरौँ’ भन्ने लेखिएको नारामाथिको फोटो भने छिमेकी देश भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको थियो ।
यो स्वागत कार्यक्रममा झण्डा भने नेपालको थियो र नेताको फोटो विदेशका । सामाजिक सञ्जालमा यो दृश्यको प्रतिक्रिया आयो– ‘भारतका आदित्यनाथले राजा ल्याइदिने राजाले राष्ट्र जोगाइदिने ।’ अझ यसमा अर्को प्रतिक्रिया थियो, ‘विचारभन्दा माथि देश, देशभन्दामाथि उत्तरप्रदेश ।’
भारत उत्तर प्रदेशका मुख्यमन्त्रीको फोटो बोकिएको राजालाई स्वागत गर्ने यो जुलुसको यस्तो दृश्यबारे आफूलाई सबैभन्दा बढी राष्ट्रवादी भनेर चिनाउने पूर्वपञ्चका कुनै पनि समूहले विरोध गरेको पाइएन । बरु नेपालका लागि भारतका एक जना पूर्वराजदूतले भने उदेकलाग्दो भनेर प्रतिक्रिया दिए ।
पूर्वभारतीय राजदूत रन्जित रेले भने, ‘भारतीय हस्तक्षेप भन्दै कराउनेहरूले नै आदित्यनाथको तस्बिर बोक्दै हिँड्नु उदेकलाग्दो भयो ।’
पूर्वराजाको स्वागत गर्न निस्किएको जुलुसमा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथकै तस्बिर निकालेर मान्छे सडकमा आउन थाले नि ? भन्ने प्रश्नमा उनको उत्तर थियो– ‘यही त उदेकलाग्दो छ । अरु बेला भारतीय हस्तक्षेप भयो भन्दै कराउनेहरू आफैँ भारतीय नेतालाई जोड्दै हिँड्छन् । उनीहरूलाई हाम्रो आन्दोलनमा भारतीय नेतृत्वको पनि समर्थन छ भनी देखाउने चाहना होला । आखिर यथार्थ के हो भने भारतमा कुनै व्यक्तिको मनमा के छ भन्ने उसको आन्तरिक मामिला भयो, तर राज्यसंस्थापनले यस्तो कुरा बोकेको छैन ।’
नेपालमा कुन नयाँ कुरा स्थापित गर्नुपर्छ वा अहिलेकै ठीक भन्ने रोजाइ नेपालका नागरिकको हो । भारतले नेपालीहरूको स्वतन्त्र छनोटलाई छिमेकीको नाताले सद्भाव राख्छ, सघाउँछ । त्यसभन्दा बढ्ता सोच्नुपर्ने केही छ जस्तो मलाई लाग्दैन ।’
यो प्रदर्शनी हुनुभन्दा केही दिन पहिले ज्ञानेन्द्र शाहले आफू राष्ट्र जोगाउन लागेको र अब समय आयो, हामीलाई साथ दिनोस् भनेर आह्वान गरेका थिए ।
उनको लामो सन्देशको आफूबाट राष्ट्र जोगाउने सन्दर्भको अंश– यो राष्ट्रमा कुनै सङ्कट नआओस् भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँं । त्यतिमात्र होइन, हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा र सुखसुविधालाई पनि त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन र त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन । कतै कुनै पन, पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र भाष्य पनि त्यही नै हो ।
देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सदैव हुनेछ । राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।
अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्दछौँ ।’
यहीँनेर हो भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीले ज्ञानेन्द्रलाई राजा बनाइदिने र यी राजाले नेपाल राष्ट्रलाई जोगाइदिने तारतम्य मिलेको भनेर सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त भएको ठाउँ ।
अरु त अरु ज्ञानेन्द्रले आफू पुनःस्थापित हुनका लागि जनपरिचालन गर्न भन्दै हालै गठन गरेका एक वृद्ध पूर्वपञ्चले समेत नेपालका राजा भारतको परामर्शमा चल्ने गरेका भनेर स्मरण लेखेका कुरा आउन थालेका छन् जसमा ज्ञानेन्द्रका बाउले चालेका २०१७ सालको काण्डमा भारतको हात रहेको भनेर किटानी गरिएको छ । यसले राजाहरू र तिनका आसेपासेका राष्ट्रवादको जग कस्तो रहेछ भन्ने बुझाउँछ ।
हालै गठन भएको ‘राजतन्त्र पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजकल राष्ट्रिय पञ्चायतका तत्कालीन अध्यक्षसमेत रहेका पूर्वपञ्च नवराज सुवेदीको आत्मवृतान्त ‘इतिहासको एक कालखण्ड’मा राजा महेन्द्रको उक्त कदमका बारे भारतको हात रहेको दाबीका बारे यसरी उल्लेख भएको छ– श्री ५ महेन्द्रलाई प्रजातन्त्रविरोधी पनि भनिन्छ । यो आरोप लाग्ने कारण २०१७ सालको काण्ड नै हो । पार्टीमाथि प्रतिबन्ध लगाई, जनताद्वारा निर्वाचित सरकारलाई विघटन गर्नु झट्ट हेर्दा अप्रजातान्त्रिक लाग्दछ । तर, यो काण्ड गराउनमा भारतको पनि हात छ ।
२०१७ साल मंसिर २८ गते शिकार खेल्ने निहुँमा तत्कालीन भारतका सेनाध्यक्ष जनरल श्री के एम थिमैया ठोरीको जंगलमा आए । त्यहीँ भारतीय राजदूत श्री भगवान् सहायले श्री ५ महेन्द्र र थिमैयाको भेट गराएका थिए । त्यसपछि पुस १ गतेको काण्ड हुनगयो ।
मेरो दृष्टिमा त्यसबेला राजा महेन्द्र र प्रधानमन्त्री विश्वेश्वरवीच के कुरा मिलेका थिएनन्, थाहा भएन तर, यसको फाइदा भारतले लिन खोज्दा नै २०१७ साल पुस १ को काण्ड हुनगयो ।
यो काण्डपछि पं. जवाहरलाल नेहरूले यो ठीक भएन भन्नेमात्र वक्तव्य दिनुभयो । अरु केही प्रतिक्रिया भारतबाट नआउनु शंका गर्ने ठाउँ छ ।
सुवेदी त्यस्ता पात्र हुन् जो राजाको प्रत्यक्ष शासनको ३० वर्षमा कुनै न कुनै उच्चपदमा नै रहे । तर उनको त्यो पुस्तकमा भने पञ्चायती कालमा दरबारले काण्डैकाण्ड मच्चाएको विवरण उल्लेख गरेका छन् जसमा आन्तरिक राजनीतिमा पनि दरबारका नाममा भ्रष्टाचार र बेथिति मौलाएको बताएका छन् ।
‘घुस खाने दरबारका सचिवहरू, दण्ड पाउने मन्त्री र सिंहदरबारका सचिवहरू, कार्पेट काण्डमा पर्ने नेपालका सपूतहरूबारे पनि इतिहासले लेख्नेछ । म यतिमात्र लेख्छु– यो ज्यादै दुःखद काण्ड हो ।
यस्ता काण्डहरू हुँदै गए । कहिले गाईकाण्ड त कहिले के काण्ड । नेपाल काण्डै काण्डको देश बन्यो । .... सूर्यबहादुर थापाले देशमा द्वैध शासन छ– सिंहदरबारमा एक छ, अर्को नारायणहिटीमा छ भनी कडा आलोचना गर्नुभयो । यो आलोचना गरेवापत उहाँलाई जेलमा थुनियो ।
पञ्चायतको लामो कालखण्डमा हुँदाहुँदा प्रधानमन्त्री पनि दरबारका सचिवहरूको इच्छामा बन्न सुरु भयो । कहिले रञ्जन खनालको इच्छामा नगेन्द्रप्रसाद रिजाल, कहिले ताराबहादुर थापाको इच्छामा मरिचमान सिंह त कहिले शरदचन्द्र शाहको मण्डले ग्रुपको इच्छामा लोकेन्द्रबहादुर चन्दजस्ता व्यक्तिहरू प्रधानमन्त्री भए ।’