काठमाडौं । पछिल्लो केही महिनायता निर्यात व्यापार बढेको छ । यस आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुन) सम्म कुल एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँबराबरको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७ दशमलव २० प्रतिशत धेरै हो । गत वर्ष फागुन मसान्तसम्म कुल एक खर्ब ६१ करोड ७४ लाख रुपैयाँबराबरको निर्यात भएको थियो ।
आठ महिनामा भएको यो निर्यात आजभन्दा १६ वर्षअघि सरकारले निर्यात गर्न राखेको लक्ष्यभन्दा धेरै हो । सरकारले २०६४ सालमा ल्याएको तीन वर्षीय अन्तरिम योजनामा निर्यात मूल्य एक खर्ब पु¥याउने लक्ष्य थियो । अहिले आठ महिनामै डेढ खर्बबढीको निर्यात भएको छ ।
२०७८ सालदेखि नै वार्षिकरूपमा एक खर्बभन्दा बढीको निर्यात हुनेगरेको छ । खासगरी नेपालबाट भारतमा खाने तेलको निर्यात बढेको । नेपालमा तेस्रो मुलुकबाट आयात गरिएको भटमासको तेलको निर्यात बढेको देखिन्छ । यस आर्थिक वर्षको आठ महिनामा ५१ अर्ब ४७ करोड रुपैयाँको ३४ करोड १९ लाख लिटर कच्चा भटमास तेल आयात भएको छ । नेपालमा थप प्रशोधन गरी भटमासको तेल भारत निर्यात हुने गर्छ । फागुनसम्म करिब ४७ अर्ब ९४ करोड ६६ लाख रुपैयाँको २२ करोड ८५ लाख ४७ हजार केजी भटमास तेल निर्यात भएको छ ।
नेपालबाट धेरै निर्यात हुने सामग्रीहरू भटमासको तेल, गलैँचा, सूर्यमुखी तेल, अलैँची, चिया र हस्तकला सामग्री हुन् । समीक्षा अवधिमा सबैभन्दा बढी क्रमशः भटमासको तेल ४७ अर्ब ९४ करोड रुपैयाँ, सूर्यमुखी तेल सात अर्ब ९८ करोड २३ लाख रुपैयाँ, अलैँची पाँच अर्ब ८३ करोड ७३ लाख रुपैयाँ, गलैँचाँ चार अर्ब ३२ करोड ३९ लाख रुपैयाँको निर्यात भएको छ । साथै फलाम तथा फलामजन्य सामग्री तीन अर्ब ५८ करोड ४२ लाख रुपैयाँ, जुटजन्सय सामग्री तीन अर्ब ४५ करोड ५९ लाख रुपैयाँ, यार्न तीन अर्ब ३८ करोड ६८ लाख रुपैयाँ, जुस तीन अर्ब ३० करोड ९२ लाख र चिया तीन अर्ब तीन करोड ३८ लाख रुपैयाँको निर्यात भएको छ ।
कुकुर र विरालोका खाना, सिमेन्ट, अम्रिसो, पस्मिनालगायतका सामग्रीको निर्यात पनि बढ्दै गएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक डा. सुमनकुमार रेग्मीका अनुसार निर्यातयोग्य कृषि क्षेत्रका वस्तुहरूका व्यावसायिक उत्पादन हुन नसक्दा निर्यात व्यापार बढ्न नसकेको हो । पछिल्लो समय सूचना प्रविधिको व्यापार बढ्दै जाँदा सरकारले उक्त क्षेत्रलाई ध्यान दिन नसक्दा निर्यात व्यापार वृद्धि हुन नसकेको उनको भनाइ छ ।
निर्यात व्यापरको लागि समस्याको रुपमा अन्तर्राष्ट्रिय व्यापारका लागि लगानी एवं व्यापारमैत्री वातावरणको कमी, निकासीजन्य उद्योगहरूलाई उत्पादनमूलक अन्य आर्थिक क्षेत्रहरूसँग एकीकृत गर्न नसक्नु, आपूर्तिजन्य कठिनाइहरू विद्यमान रहनु, प्रमुख निकासीजन्य वस्तुहरूको गुणस्तरमा कमी, असहज श्रम सम्बन्ध, ऊर्जा समस्याले उत्पादन लागत बढ्नु रहेको विज्ञहरू बताउँछन् । अर्कोतर्फ अन्तर्राष्ट्रिय समस्यामा अधिकांश निर्यातयोग्य वस्तुहरू आयातीत कच्चापदार्थमा र न्यूनतम मूल्य अभिवृद्धिमा आधारित हुन विज्ञहरूको भनाइ छ ।
विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुरूप चालू आवको आठ महिनाको अवधिमा आयात व्यापार ११ खर्ब ४५ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनमा ५७ दशमलव २० प्रतिशतले बढी हो । गत आवको आठ महिनामा आयात व्यापार १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ रहेको थियो । नेपालमा कृषि सामग्री तथा भान्सामा दैनिक प्रयोग हुने सामान्य सामग्रीदेखि लिएर पेट्रोलियम पदार्थ, सवारीसाधान, फलाम, कच्चा सूर्यमुखी, भटमास, सुन, मोबाइललगायतका सामग्रीको उच्च आयात हुनेगरेको छ ।
समीक्षा अवधिमा सबैभन्दा बढी परिणाममा क्रमशः पेट्रोलियम पदार्थअन्तर्गत डिजेल ७८ अर्ब ८६ करोड रुपैयाँ, पेट्रोल ४२ अर्ब ८० करोड रुपैयाँ र खाना पकाउने एलपीजी ग्यास ४१ अर्ब नौ लाख रुपैयाँ र भटमास ५१ अर्ब ३५ करोड रुपैयाँको आयात गरिएको छ । सोही अवधिमा फलामजन्य सामग्री ३३ अर्ब ६४ करोड रुपैयाँ, मोबाइल २१ अर्ब ९१ करोड रुपैयाँ, सुन १४ अर्ब ३७ करोड रुपैयाँ र हवाई इन्धन १२ अर्ब ७१ करोड रुपैयाँको आयात गरिएको छ । नेपालको आयात व्यापारमा सबैभन्दा बढी हिस्सा भारत र चीनको रहेको पाइन्छ ।
पेट्रोलियम पदार्थको आयातको लागि पूर्णरूपमा भारतमा निर्भर रहेका छौँ भने चीनबाट विद्युतीय सामग्री, कपडा र फलफूललगायतका सामग्रीमा उच्च निर्भर रहेका छौँ । यसको अतिरिक्त यातायातका साधन र यसका पार्टपुर्जा, सिमेन्ट, फलामे छड र औषधिका आयात पनि बढेको कारण भारतसँगको व्यापारघाटा पनि बढेको विभागका निर्देशक एवं सूचना अधिकारी नारायणप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार चीनबाट नेपालमा आयात हुने सामानहरूमा भने विद्युतीय सामग्री, विद्युतीय सवारीसाधान, तयारी पोसाक, जुताचप्पल, यातायातका पार्टपुर्जा र लसुन, स्याउलगायतका फलफूल रहेको छ जसले गर्दा चीनसँग व्यापारघाटा बढेको छ । अर्कोतर्फ नेपालबाट चीनतर्फ निर्यात हुँदै आएको प्रशोधित छाला, रुद्राक्ष, घरेलु उद्योगका सामानलगायतका वस्तुहरू भुइँचालोअगाडिका अवस्थामा जति पठाउन सकिएको थियो त्यति हालका वर्षहरूमा पठाउन सकिएको छैन ।
विभागका अनुसार उच्च आयात र न्यून निर्यातका कारण नेपालले तेस्रो मुलुकसँगको व्यापारमा घाटा बेहोरेको छ । चालू आवको आठ महिनामा व्यापार घाटा नौ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनमा छ दशमलव २२ प्रतिशतले बढी हो । गत आवको आठ महिनाको अवधिमा व्यापार घाटा नौ खर्ब २९ अर्ब ६० करोड रहेको थियो । गत आवको आठ महिनाको तुलनमा चालू आवको सोही अवधिमा कुल वैदेशिक व्यापार भने १५ दशमलव २९ प्रतिशतले बढेको छ । गत आवको आठ महिनामा ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँ रहेको कुल वैदेशिक व्यापार चालू आवको आठ महिनामा १३ खर्ब तीन अर्ब ७३ करोड रुपैयाँमा पुगेको छ । निर्यात, आयात वृद्धि हुँदै जाँदा क्रमशः वैदेशिक व्यापार र मुलुकको व्यापार घाटा समेत उच्च भएको छ ।
मुलुकको व्यापारलाई व्यवस्थित गर्नका लागि उच्च निर्यात गर्दै न्यून आयात गरी व्यापार घाटा कम गर्नुबाहेकको विकल्प नरहेको विज्ञहरू बताउँछन् । सरकारले भने मुलुकको व्यापारलाई प्राथमिकतमा राख्दै वाणिज्य नीति, २०८१ पनि कार्यान्वयनमा ल्याएको छ । वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व बढाउने, निर्यात प्रवर्द्धन गर्दै आयातलाई निर्यातसँग अन्तरआबद्ध गरी व्यापार असन्तुलन कम गर्न, व्यापारजन्य पूर्वाधरको विकास गरी प्रतिस्पर्धी क्षमता विकास गर्न वाणिज्य नीति ल्याएको दाबी गरिएको छ । साथै व्यापार कूटनीति सुदृढीकरण गरी अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तु तथा सेवाको पहुँच बढाउन, आपूर्ति श्रृङ्खला सुदृढ गरी व्यापार लागत घटाउन र व्यापारमा अन्तरसम्बन्धित निकाय, राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तर र संघ, प्रदेश र स्थानीय सहरको सहभागिता, समन्वय तथा साझेदारी बढाउने लक्ष्यसहित उक्त वाणिज्य नीति ल्याएको हो ।
सरकारले वाणिज्य नीति ल्याए पनि कार्यान्वयन गर्न नसक्ने आशंका भने यथावत् रहेको छ । सरकारले यसअघि निर्यात व्यापारलाई फाइदा हुनेगरी नीति, नियम तथा रणनीति ल्याए पनि कार्यान्वयन गर्न नसक्दा नेपालको निर्यात व्यापार सदैव आयात व्यापारको मारमा पर्नेगरेको अर्थविद् केशव आचार्य बताउँछन् । सरकारले निर्यात बढाउनका लागि निर्यातजन्य सामग्री पहिचान गर्ने, लगानी वृद्धि गर्ने, विद्युतीय भुक्तानीलगायतका विभिन्न व्यवस्था गरे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन नसक्दा समस्या भएको उनको भनाइ छ ।