काठमाडौं । बैक तथा वित्तीय संस्थाहरूले घरजग्गा क्षेत्र (रियलस्टेट)मा झण्डै तीन खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ माघ मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा दुई खर्ब ७६ अर्ब ८६ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा २८ अर्ब ११ करोड ८० लाख रुपैयाँ बढी हो । २०८० माघ मसान्तसम्म घरजग्गा क्षेत्रमा दुई खर्ब ४८ अर्ब ७४ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
वाणिज्य बैकहरूले गत माघ मसान्तसम्म रियलस्टेट क्षेत्रमा दुई खर्ब ३२ अर्ब ९९ करोड ५० लाख रुपैयाँ रियलस्टेट कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा १९ अर्ब ६३ करोड २० लख रुपैयाँ बढी हो । गत वर्ष माघसम्म वाणिज्य बैंकहरूले घरजग्गा क्षेत्रमा दुई खर्ब १३ अर्ब ३६ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरूले पनि गत माघ मसान्तसम्म घरजग्गा क्षेत्रमा ३२ अर्ब ६० करोड ३० लाख रुपैैयाँ ऋण प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा छ अर्ब ९८ करोड ८० लाख रुपैैयाँ बढी हो । गत वर्ष माघसम्म घरजग्गामा प्रवाह गरेको कर्जा २५ अर्ब ६१ करोड ५० लाख रुपैयाँ थियो ।
फाइनान्स कम्पनीहरूले पनि घरजग्गा क्षेत्रमा लगानी बढाएका छन् । २०८१ माघ मसान्तसम्म फाइनान्स कम्पनीहरूले घरजग्गा क्षेत्रमा ११ अर्ब २६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्ष अघिको तुलनामा एक अर्ब ८५ करोड ७० लाख रुपैयाँ बढी हो । गत वर्ष माघसम्म नौ अर्ब ७५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।