कास्की । लागू औषधसहित पोखराको छोरेपाटनबाट तीन जना पक्राउ परेका छन् ।प्रहरीका अनुसार कास्की माछापुच्छ्रे गाउँपालिका– ३ बस्ने ४१ वर्षीय सार्जन गुरुङ, ३० वर्षीय सुजन गुरुङ र म्याग्दी स्थाइ घर भएर हाल कास्की पोखरा महानगरपालिका–११ रानिपौवा बस्ने वर्ष २६ की एलिना सोतोन्जा पुन पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा– १७ छोरेपाटन स्थितमा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रहरीले झोलामा लुकाएर राखेको लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ३४० मिलिग्राम, लागू औषध बुप्रिनर्फिन १४४ एम्पुल, डाइजापाम १४३ एम्पुल, फेनरागन १४२ एम्पुलगरी जम्मा ४२९ एम्पुल र मोबाइल चार थान बरामद गरिएको छ।
प्रहरीले कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परेकालाई सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जनाएको छ।