काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम नेपाल (यूएनडीपी–नेपाल)ले संयुक्तरूपमा ‘दिगो पर्यटन परियोजना (एसटीपी)’ नामक नयाँ परियोजना सुरु गर्ने भएका छन् ।
कुल लागत पाँच मिलियन (५० लाख) अमेरिकी डलरबराबरको सो परियोजना सञ्चालनको लागि दुई संस्थाबीच सम्झौता भएको छ । हालै आयोजित एक कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी र यूएनडीपी–नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यसहित पर्यटन सेवासुविधा सुधार, पर्यटन कार्यबललाई सीपमूलक तालिम र पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्न यो परियोजना अघि बढाइएको हो । यो परियोजनामा बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालले प्रत्येकले एक दशमलव पाँच मिलियन अमेरिकी डलर योगदान गर्नेछन् भने थप दुई मिलियन अमेरिकी डलर संयुक्तरूपमा परिचालन गरिनेछ ।
यस परियोजनाले तीन वर्षको अवधिमा (२०२५–२०२८) दुई हजार पाँच सय दिगो रोजगारी सिर्जना गर्ने र पाँच हजार जनालाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि गर्ने लक्ष्य लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले जानकारी दिए । उनका अनुसार प्रमुख पर्यटकीय स्थलहरूमा साना पर्यटन पूर्वाधार तथा पदमार्गहरूको निर्माण र सुधारका साथै नेपालको पर्यटन डिजिटलाइजेसनलाई प्रवद्र्धन गरी सेवा प्रभावकारिता र पहुँच वृद्धि गर्ने परियोजनाको लक्ष्य रहेको छ । बोर्डका सीईओ जोशीले यस परियोजनाले स्थानीय समुदायलाई रोजगार र उद्यमशीलताका अवसरहरू प्रदान गर्दै नेपाललाई एक सशक्त र विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत गर्ने बताए ।
त्यसैगरी यूएनडीपी–नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले नेपालको पर्यटन क्षेत्रको रूपान्तरणमा यूएनडीपी जोडिन पाउँदा गर्व महसुस गरेको बताइन् । यो परियोजना स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी नेपालको आर्थिक सम्भावना वृद्धि गर्न र दिगो पर्यटनलाई प्रवद्र्धन गर्न सहयोग गर्ने उनको भनाइ छ । परियोजनाले नेपालको १६औँ योजना, दिगो विकास लक्ष्य र नेपाल पर्यटन दशक (२०२३–२०३२) परिकल्पना गरेको प्राथमिकतालाई बल पुर्याउने बोर्डले जनाएको छ । नेपाल पर्यटन दशकले सन् २०३२ सम्म वार्षिक पर्यटक आगमन ३.५ मिलियन पुर्याउने लक्ष्य लिएको छ ।
यसअघि बोर्ड र यूएनडीपी–नेपालले संयुक्तरूपमा सञ्चालन गरेको ‘दिगो पर्यटनमार्फत जीविकोपार्जन पुनरुत्थान परियोजना (एसटीएलआरपी)’ ले कोभिड–१९ महामारीपश्चात् प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । सो परियोजनाले सगरमाथा र अन्नपूर्ण क्षेत्रमा साना पर्यटन पूर्वाधार निर्माण र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्दै एक हजार छ सय जनालाई रोजगार सिर्जना गरेको थियो । नयाँ परियोजना एसटीपीले नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदामा लगानी, पूर्वाधार विकास, कार्यबलको क्षमता अभिवृद्धि र डिजिटल नवप्रवर्तनमार्फत पर्यटक वृद्धि गर्दै नेपालमा रहने अवधि बढाउने र खर्चमा वृद्धि गराउने जनाइएको छ ।