काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताएको छन् । शनिबार आयोजित नेपाल कृषि मेसिनरी व्यवसायी संघको नवौँ वार्षिक साधारणसभामा उनले कृषिलाई यान्त्रीकरण गर्दै जानुपर्ने आवश्यकता भए पनि यस्ता उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताए ।
किसानले महँगोमा किनेका उपकरण बर्सेनि मर्मतकै लागि धेरै खर्च गर्नु परिरहेको भन्दै यस्तो अवस्था अन्त्य हुनपर्नेमा उनले जोड दिए । ‘कृषि यान्त्रिकीकरणको प्रवद्र्धनमा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको छ । यस्ता यन्त्र उपकरण स्वदेशमै बनाउन पहल गर्न आवश्यक छ’, उनले भने, ‘त्यो अवस्था नबन्दासम्म किसानले पनि उपकरण खरिद गर्दा गुणस्तरमा निश्चिन्त भएर मात्रै खरिद गर्न आवश्यक छ ।’ कार्यक्रममा मन्त्री अधिकारीले उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दिगो कृषिप्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै सरकारअघि बढिरहेको बताए । आधुनिक कृषियन्त्र तथा उपकरणमा अनुदानका कार्यक्रम निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि भएको उल्लेख गर्दै उनले यसलाई अझ प्रभावकारी बनाउन सरोकार भएका पक्षसँग सहकार्य गर्न सरकार तयार रहेको बताए ।